सेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

मंगलबार, २३ साउन, २०८०
डिजिटल संस्करण

रसुवाको दक्षिणी उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर संख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ। 

जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर संख्या  नियमसम्मत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह  गरेको हो। 

कुल सेयर संख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून संख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन। 

उनले सेयर बाँडफाँटको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए। 

जिल्लाको उत्तरगया गाउँपालिकाको करुम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ। आयोजनाले आफ्नो कार्यक्षेत्रबाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साबिक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकका सहभागी सदस्यले प्रश्न उठाएका थिए।

रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर तोकेको बताइएको छ। आयोजनाले  रसुवा र नुवाकोटको भूभागका प्रभावित र अतिप्रभावितलाई भने आठ लाख ५७ हजार एक सय ५० कित्ता  निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ।

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले  सेयर निष्कासन गर्नुपूर्व  जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए।

See More On

सुझावित समाचार