अधिकृतमाथि हातपात गरी फरार वडाध्यक्षले गरे आत्मसमर्पण

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण
अधिकृतमाथि हातपात गरी फरार वडाध्यक्षले गरे आत्मसमर्पण

वडाध्यक्ष दौलतविक्रम कार्की

जिल्लाको गोलन्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतलाई हातपात गरी फरार रहेका वडाध्यक्षले जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। 

गत १४ असारमा गोलन्जोर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि हातपात गरेको भन्दै पौडेलले दिएको जाहेरीका प्रतिवादी सोही गाउँपालिका -२ का वडाध्यक्ष दौलतविक्रम कार्कीले आइतबार जिल्ला प्रहरी कार्यालयमा आई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
 
अधिकृत पौडेलले अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गराएका छन्। कार्की जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उपस्थित भई आत्मसमर्पण गरेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए।

कार्कीलाई अनुसन्धानको लागि म्याद थपको लागि जिल्ला अदालत सिन्धुलीमा पेस गरिएको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको दाहालले बताए।

सुझावित समाचार