कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीनजनाको उपचार

आइतबार, २१ साउन, २०८०
डिजिटल संस्करण
कान्ति बाल अस्पतालमा शय्या अभाव, एउटै बेडमा तीनजनाको उपचार

फाइल तस्बिर

कान्ति बाल अस्पतालमा शय्याको अभाव हुँदा बिरामी मर्कामा परेका छन्। बालबालिकाको रेफरल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार हुँदै आएको छ।

यस्तै, बालबालिकाको इन्डोस्कोपी सेवा, मुटुरोगको ओपिडी सेवा सञ्चालन हुने गरेको छ। अहिले रुघाखोकी, निमोनिया, ज्वरो र केही मात्रामा झाडापखालाका बिरामीकाे चाप छ। 

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले पर्याप्त शय्या नहुँदा उपचारमा अप्ठ्यारो भएको जानकारी दिए। उनले एउटा बेडमा दुईदेखि तीनजनासम्मलाई उपचार गर्नुपर्ने बाध्यता रहेको बताए। 

अस्पतालमा तीन सय ३० शय्या छन्। अस्पतालमा पर्याप्त शय्या नहुँदा एउटा बेडमा तीजनासम्मको उपचार हुने गरेको छ। अस्पतालमा नर्सिङ जनशक्तिको पनि अभाव छ। डा. बसौलाले गत आर्थिक वर्षमा दुई लाख बालबालिकाले उपचार सेवा लिएको जानकारी दिँदै अहिले दैनिक झन्डै नौ सयजना उपचारका लागि आउने गरेको बताए। 

डा. बसौलाले अस्पतालमा एकजना नर्सले ६ देखि आठजना बिरामीलाई सेवा पुर्याउनुपर्ने अवस्था रहेको बताए। 

अस्पतालले मिर्गौला रोगको उपचार, बाल क्यान्सर, बाल मानसिक रोगको उपचार, इन्डोस्कोपी, मुटुरोगको ओपिडी सञ्चालन गर्दै आएको छ । दैनिक २० देखि ३० वटा अप्रेसन हुने गरेको कान्तिमा ५२ शय्याको आइसियू सञ्चालनमा छ।

एक हजार शय्याको अस्पताल निर्माण गर्ने गरी डिपिआर पूरा भएको जानकारी दिँदै डा. बसौलाले नौ अर्ब ३० करोडको लागतमा पाँचवटा भवन बनाउने योजना रहेको बताए। उनका अनुसार इमर्जेन्सीबाहेक अप्रेसनका लागि ६ महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बाध्यता छ। कान्ति बाल अस्पतालले निकट भविष्यमा नै एमआरआई सेवा सञ्चालन गर्ने योजना बनाएको छ । 

सुझावित समाचार