स्पेनले पहिलोपटक क्वार्टरफाइनलमा स्थान बनाउँदा जापान भने दोस्रोपटक उपाधि जित्ने योजनामा
जापान र स्पेन फिफा महिला विश्वकपको अन्तिम आठमा प्रवेश गरेका छन् । शनिबार भएको खेलमा सानदार जित निकाल्दै दुवै टोलीले उपाधि सम्भावना कायम राखेका हुन् । सन् २०११ को च्याम्पियन जापानले नर्वेलाई ३–१ ले पराजित गरेको हो । स्पेनले स्विट्जरल्यान्डलाई ५–० ले हरायो । जापानले क्वार्टरफाइनलमा स्विडेन र अमेरिकामध्ये एकसँग खेल्नेछ । स्पेनले नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाको विजेतासँग खेल्ने तालिका छ । नतिजासँगै समूह ‘ए’का सबै टोली घर फर्किएका छन् । तीन खेलमा स्विट्जरल्यान्ड विजेता र नर्वे उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका थिए । समूह ‘सी’बाट जापान ९ अंकसहित शीर्ष स्थान र स्पेन ६ अंकसहित उपविजेता बनेको थियो ।
जापानको एकपक्षीय खेल
न्युजिल्यान्डको विलिंघटन क्षेत्रीय रंगशालामा जापानले नर्वेविरुद्ध एकपक्षीय जित निकालेको हो । दोस्रो विश्वकप जित्ने जापानको योजनामा रिसा सिमोजु र हिनाता मियाजावाले समान एक गोल गरेका थिए । नर्वेकी इन्गे्रडले आत्मघाती गोल गर्दा जापानले सुरुवाती अग्रता लिएको थियो । नर्वेकी गुरो रेइटनले एक गोल फर्काइन् ।
जापानकी गोलकर्ता रिसा सिमोजुले यात्रा अझै लामो रहेको बताइन् । ‘यो यात्रा अझै लामो छ,’ रिसाले भनिन् । उनले सन् २०१९ मा अन्तिम १६ बाट बाहिरिएको र यसपटक त्यसबाट उम्कन सफल भएको भन्दै खुसी व्यक्त गरिन् । ‘अघिल्लो सिजन निकै स्तब्धपूर्ण नतिजा रह्यो । तर, आजको जित निकै राम्रो भयो,’ रिसाले थपिन् । ‘हामीले अन्य खेलमा अझै सुधार गर्नुपर्छ ।’
हिनाता मियाजावाको क्रसलाई जोगाउने क्रममा १५औँ मिनेटमा इनगेनले आफ्नै पोस्टमा गोल गरेपछि जापानले खेलमा अग्रता बनाएको हो । नर्वेले पाँच मिनेटपछि नै बराबरी गोल गरेको थियो । गुरो रेइटनले हेडगोल गरिन् । ५०औँ मिनेटमा रिसाले गोल गर्दै जापानलाई २–१ को अग्रता दिलाएकी हुन् । ८१औँ मिनेटमा मियाजावाले गोल गर्दै जापानको जित सुनिश्चित गरिन् । मियाजावा पाँच गोल गर्दै विश्वकपको उच्च गोलकर्ता दौडको शीर्ष स्थानमा छिन् ।
स्पेनको ऐतिहासिक नतिजा
न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा स्पेनले ऐतिहासिक जित निकालेको छ । स्पेन पहिलोपटक अन्तिम आठमा स्थान बनाउन सफल भयो । सन् २०१५ बाट विश्वकपमा डेब्यु गरेको स्पेनले सो वर्ष समूह चरण पार गर्न सकेन । सन् २०१९ मा दोस्रोपटक अन्तिम १६ मै रोकिएको थियो । यसपटक भने टोली अन्तिम आठमा प्रवेश गरेको छ । जारी विश्वकपमा चार खेलमा स्पेनले १३ गोल गरिसकेको छ । यससँगै उसले तेस्रो सहभागितामै उपाधि जित्न आफ्नो पनि दाबेदारी रहेको संकेत गरेको हो ।
स्विट्जरल्यान्डविरुद्ध स्पेनको जितमा एइताना बोनामाटीले दुई गोल गरिन् । यस्तै, दुई गोलको अवसर सिर्जना गरिन् । एलबा रेडोन्डो, लाइआ कोडिना र जेनिफर हेर्माेसोले समान एक–एक गोल गरेका छन् । स्पेनकी रक्षक कोडिनाले नै आत्मघाती गोल गरिन् । स्पेनले पहिलो हाफमै चार गोल गरेको थियो । गोलकर्ता बोनामाटीले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको बताइन् । ‘मेरो योगदानले जित सफल भएको छ । यसमा धेरै खुसी छु,’ उनले भनिन्, ‘साँच्चै आज हामीले उत्कृष्ट प्रदर्शन गरेका छौँ । नकआउट खेलमा पाँच गोल गर्नु सानो कुरा हैन । मेरो टिमप्रति गर्व छ ।’
पाँचौँ मिनेटमा बोनामाटीको गोलबाट स्पेनले अग्रता बनाएको हो । ११औँ मिनेटमा कोडिनाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो । यसपछि भने स्पेनले लगातार दबाब बनायो । बोनामाटीको पासमा रेडोन्डोले १७औँ मिनेटमा स्पेनलाई २–१ को अग्रता दिलाएकी हुन् । ३६औँ मिनेटमा बोनामाटीले व्यक्तिगत दोस्रो गोल गरिन् । ४५औँ मिनेटमा कोडिनाले गोल गर्दा स्पेन ४–१ ले अगाडि रह्यो । बोनामाटीको पासमा जेनिफरले ७०औँ मिनेटमा गोल गर्दै स्पेनलाई सानदार जित दिलाइन् । जेनिफर हर्मोसोेले गोल गर्दै स्पेनलाई ५–१ को सानदार जित दिलाइन् ।
अमेरिका र स्विडेन भिड्दै
चारपटकको च्याम्पियन अमेरिकाले क्वार्टरफाइलन प्रवेशका लागि आज बलियो स्विडेनको सामना गर्दै छ । अस्ट्रेलियाको मेलबर्नमा अमेरिकाको ध्यान सहज जितमा हुनेछ । अमेरिकाले सन् १९९१, १९९९, २०१५ र २०१९ को उपाधि जितेको थियो । यसैगरी, सन् २०११ मा उपविजेता भएको हो । यता, तीनपटकको उपविजेता स्विडेन भने अप्रत्याशित जित निकाल्न चाहन्छ । यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि एकपटकको च्याम्पियन जापानसँग खेल्ने पक्का हुनेछ । अमेरिका समूह ‘ई’को उपविजेता र स्विडेन समूह ‘जी’को विजेता हो । अर्काे खेलमा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । सन् २०१९ को उपविजेता नेदरल्यान्ड्सलाई बलियो टोली मानिएको छ । दक्षिण अफ्रिका सानदार प्रदर्शन गर्ने दाउमा छ । दोस्रोपटक विश्वकप खेलिरहेको दक्षिण अफ्रिका पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो ।