हलिउडका पटकथाकारको हडतालको अर्थ

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) व्यापारिक विश्वमा ठूलो चर्चाको विषय बनेको छ । कम्पनीले उन्नत एआई मोडेल प्रयोग गर्न आफ्ना योजनालाई उत्सुकतासाथ प्रदर्शन गरिरहेका छन् र मिडियाले यसको रुपान्तरणकारी क्षमताबारे लेखिरहेको पनि छ । निःसन्देह एआईसँग उत्पादकत्व बढाउने क्षमता छ । तर, उत्पादकत्वको फल कसले लिने ? यो प्रश्नको उत्तर राइटर्स गिल्ड अफ अमेरिका (डब्ल्युजिए) को हडतालले दिन सक्छ । 

मजदुर युनियन नहुनुका बाबजुद हलिउडका पटकथाकारले सबै प्रकारका ज्ञानआश्रित मजदुरमाथि हुने एआईसम्बद्ध निकट भविष्यका चुनौतीसँग संघर्ष गरिरहेका छन् । मुख्य चासो एआई र यसका प्रयोगकर्ताको भूमिकावरपर घुम्छ । के एआईलाई टिभी र चलचित्र निर्माताले लेखकलाई प्रतिस्थापन गर्ने र पैसा बचत गर्ने माध्यमका रूपमा हेर्ने हो, वा यसलाई कलाको विषयवस्तुको गुणस्तर, उत्पादकत्व र आम्दानी बढाउन रचनात्मकता भएका व्यावसायिक व्यक्तिलाई सक्षम बनाउन प्रयोग गर्ने हो । 

कार्यस्थलमा एआई प्रयोगको वर्तमान अवस्थाको ऐतिहासिक समानान्तरता देख्न सकिन्छ । २०औँ शताब्दीको प्रारम्भमा फोर्डिस्ट उत्पादनको विकासले उत्पादकत्व निश्चय नै बढायो, तर मजदुरले सुरुमा लाभ उठाउन सकेनन् । पछि नयाँ रोजगारीका अवसर सिर्जना गरिँदा र मजदुरले मोलतोल गर्ने सामथ्र्य हासिल गरेपछि मात्र साझा समृद्धि आयो । नयाँ रोजगारी सिर्जना गर्ने र श्रमिकलाई सशक्त बनाउने यी दुई कारकले व्यापक समृद्धि सुनिश्चित गर्नमा महत्वपूर्ण भूमिका खेल्छ ।

मजदुर युनियन नहुनुका बाबजुद हलिउडका पटकथाकारले सबै प्रकारका मजदुरमाथि हुने एआईसम्बद्ध निकट भविष्यका चुनौतीसँग संघर्ष गरिरहेका छन् 

फोर्डिस्ट उत्पादन प्रणाली ल्याउने फोर्ड मोटर कम्पनीका मालिक हेनरी फोर्ड र उनका समकालीनले एकैसाथ नयाँ रोजगार सिर्जना गरिरहँदा स्वचालन प्रणाली ल्याए, जुन मानव श्रममा निर्भर थियो । यसमा सामग्रीको तयारी, मेसिन मर्मतसम्भार र समन्वय पथ्र्यो । भूमिकाको यो विस्तारले उत्पादनमा मजदुरको संलग्नता बढायो र श्रममागमा उल्लेखनीय वृद्धि भयो । सन् १८९९ मा अमेरिकी कार उद्योगमा वार्षिक लगभग दुई हजार पाँच सवारीसाधन उत्पादन गर्ने सानो जनशक्ति थियो । तर, सन् १९२९ सम्ममा फोर्ड र जेनरल मोटर (जिएम) ले प्रत्येक वर्ष १५ लाख कार उत्पादन गरे र चार लाखभन्दा बढीले मोटर उद्योगमा रोजगारी पाए ।    

दोस्रो आवश्यक तत्व प्रभावकारी रूपमा मोलतोल गर्ने क्षमता हो । यस सन्दर्भमा एक महत्वपूर्ण कोसेढुंगा सन् १९३६ र १९३७ बीच जिएममा भएको प्रसिद्ध सिट–डाउन हडताल थियो । यसले युनियनलाई मान्यता दिन, कामको अवस्था सुधार्न र मजदुरका लागि उचित तलब सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेल्यो । धेरै वर्षको दौरान अटोमोबाइल (गाडी) उत्पादन क्षेत्रमा व्यवस्थापन र कामदारबीचको सन्तुलनले ज्याला वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको थियो । यस उपलब्धिलाई निरन्तर तालिम र नयाँ जिम्मेवारीमा अनुकूलन गर्नका लागि र मजदुरको उत्थानमा केन्द्रित गरिएको थियो । अन्ततः रोजगारदाता र मजदुर दुवैले त्यसवेला बढेको उत्पादकत्वको लाभ लिए ।

अटोमोबाइल क्षेत्रमा मजदुर युनियनको वृद्धिले अन्य उद्योगका लागि मार्गदर्शकका रूपमा काम गर्यो । यसले पुँजी र श्रमबीचको सरल संवादको उदाहरण निर्माण गर्यो । सन् १९५० को दशकमा निर्माण कम्पनीले अहिले चलिरहेको ‘मजदुरविहीन कारखाना’को विचारलाई पछ्याएको भए यसले उत्पादकत्व वृद्धि र साझा समृद्धिमा हानिकारक प्रभाव पार्ने थियो । 

हालका दिनमा हामी एक तुलनात्मक रूपान्तरणको अनुभव गरिरहेका छौँ, किनभने प्रविधि कम्पनीका कार्यकारीले ज्ञान निर्माण र प्रसारका सबै पक्षमा जेनेरेटिभ एआईतिर ध्यान केन्द्रित गरिरहेका छन् । यसकारण अहिलेको अवस्था सन् १९०० को प्रारम्भमा कार निर्माताले सामना गरेका असमञ्जस्यसँग मिल्छ । प्रश्न उठ्छ– के हामीले बौद्धिक कार्य स्वचालित गर्न र मजदुरलाई पन्छाउन शक्तिशाली नयाँ प्रविधिको प्रयोग गर्ने हो ? वा एआईलाई मजदुरको उत्पादकत्व बढाउन र रचनात्मकता प्रोत्साहन गर्ने माध्यमको रूपमा अगाडि सार्ने हो ?

हलिउडमा चलिरहेको डब्ल्युजिए हडतालले ठूलो महत्व राख्छ । यसले एक शताब्दीअघिको फोर्ड र जिएम कारखानामा युनियन मान्यताका लागि भएको ऐतिहासिक संघर्षलाई पनि माथ दिन सक्छ । हलिउडको रचनात्मक जनशक्ति अन्य उद्योगको तुलनामा उल्लेखनीय रूपमा संगठित र प्रभावशाली छ । यदि यी पेसेवर आफ्नो प्रयासमा असफल भए यसले ज्ञानआश्रित मजदुरको काम र प्रविधिको भविष्य निर्माणमा व्यवधान ल्याउन सक्छ । 

हामी निर्णायक निर्णयको सामना गरिरहेका छौँ, किनभने चलचित्र निर्मातालाई पूर्ण स्वचालनको उपायले लोभ्याएको छ । पटकथा लेखक, अभिनेता र कर्मचारीको आवश्यकतालाई घटाएर छोटो अवधिको नाफा आर्जन हुन सक्छ, तर यसले उत्कृष्ट स्टुडियोबाट हुने नाफा र उच्च गुणस्तरको सामग्रीसँग बराबरी गर्न सक्नेछैन । मानवीय विवेक र सिर्जनशीलता अपरिवर्तनीय रहन्छ । प्रचारका बाबजुद आकलन वा इन्टरनेटबाट जानकारी संकलन गर्नेजस्ता कामले उत्कृष्ट कलात्मक उपलब्धि ल्याउने सम्भावना देखिँदैन । तर, यति भन्दै गर्दा जेनेरेटिभ एआईसँग अनुसन्धान र विचार विकासमा सहयोग गरेर रचनात्मक कलाकारलाई ठूलो सहयोग गर्ने क्षमता छ । 

पटकथाकारको हडतालको नतिजाले ठूलो महत्व राख्छ । चलचित्र स्टुडियोले कामदारलाई सीमान्तकृत गर्ने हो भने ठूलो क्षति हुनेछ । ज्ञानमा आधारित सबै मजदुरले डब्ल्युजिए र यसका सदस्यलाई समर्थन गर्न आवश्यक छ । यिनको सफलताले युनियनले छोटो अवधिमा ज्याला वृद्धि गर्न मात्र नभई रचनात्मकतालाई विस्थापित गर्नुको सट्टा कसरी प्रविधिलाई प्रयोग गर्न सकिन्छ भनेर पनि देखाउन सक्छ ।

(एसिमोग्लु एमआइटीका अर्थशास्त्रका प्राध्यापक, जनसन आइएमएफका पूर्ववरिष्ठ अर्थशास्त्री र लेन्च एमआइटीका नीति अनुसन्धाता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट
 

सुझावित समाचार