प्रेरक प्रसंग : काग र अन्य चराको संवाद

शुक्रबार, १९ साउन, २०८०
डिजिटल संस्करण

जंगलमा बस्ने कागलाई कुनै कष्ट थिएन । ऊ निकै आनन्दको जिन्दगी बाँचिरहेको थियो । एकदिन उसले एउटा हाँसलाई देख्यो । उज्यालो, सेतो हाँसलाई देखेर उसले सोच्यो, यो हाँस कति सेतो छ । मचाहिँ कति कालो छु । यो हाँस पक्कै पनि संसारकै सबैभन्दा सुखी चरो हुनुपर्छ । 

कागले हाँससित यही जिज्ञासा राखिसकेपछि हाँसले दुःखी हुँदै भन्यो– होइन साथी, यस्तो हुँदै होइन । मलाई पनि निकै लामो समयसम्म संसारकै सबैभन्दा सुन्दर र सुखी चारो म नै हुँ जस्तो लाग्थ्यो । तर, एकदिन मैले एउटा सुगालाई देखेँ । उसको शरीरको दुई रङको छटा अनौठो थियो । जब कि मसँग त केवल एउटा रंग छ । त्यसैले, मलाई लाग्छ कि सुगा नै संसारको सबैभन्दा सुन्दर र सुखी चरो हुनुपर्छ ।

काग सुगालाई भेट्न गयो र त्यही जिज्ञासा राख्यो । सुगाले भन्यो– जबसम्म मैले मयूरलाई देखेको थिइनँ, त्यतिखेरसम्म मलाई आफ्नो रुपरंगमाथि निकै गर्व थियो । तर, मयूरजति सुन्दर त कोही हुनै सक्दैन । मेरो शरीरका दुई रंगको मयूरसित के तुलना हुन्थ्यो र ? 

त्यसपछि काग मयूरको खोजी गर्न थाल्यो । उसले एउटा चिडियाघरमा मयूरलाई भेट्यो । त्यहाँ उसको पिँजडाबाहिर बसेका सयौँ मानिसले उसको सुन्दरताको बयान गरिरहेका थिए । जब मानिस गए, त्यसपछि कागले सोध्यो– मयूर साथी, तिमी कति सुन्दर छौँ । हजारौँ मानिस हरेक दिन तिमीलाई हेर्न आउँछन् । मलाई त दैख्नासाथ लखेट्छन् । मलाई लाग्छ, तिमी संसारकै सुन्दर र खुसी चरो हौ ।

खुइय सुस्केरा हाल्दै मयूरले भन्यो– मलाई पनि यस्तै लाग्थ्यो साथी ! तर, सुन्दरता नै मेरो शत्रु बन्यो । यही सुन्दरताका कारण अहिले म यस चिडियाघरको पिँजडामा बन्दी बनेको छु । यहाँ तिमीबाहेक अरू सबै चराचुरुंगी पिँजडामा थुनिएका छन् । त्यसैले, मलाई आफू मयूर नभएर काग भइदिएको भए स्वतन्त्र भएर आनन्दले आफूखुसी जंगलमा घुमिरहेको हुने थिएँ जस्तो लाग्छ । त्यसैले, सबैभन्दा सुखी म होइन, तिमी हौ काग साथी !

सुझावित समाचार