बचतकर्ताको रकम फिर्ता गराउने गरी प्रदेश सरकारले कानुन निर्माण गर्दै छ : मन्त्री पाण्डे

बिहिबार, १८ साउन, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले बचतकर्ताहरूको रकम फिर्ता गराउने गरी कानुन निर्माणमा प्रदेश सरकार लागेको बताएका छन्।

भैरहवामा बुधबार सहकारीबाट पीडितहरूले बचत रकम फिर्ता नपाएको, बचत फिर्ता नहुँदा आर्थिक संकट परेको र सम्बन्धित निकायबाट समेत सुनुवाइ नभएको गुनासो सुनेका उनले यस्तो बताएका हुन्।

विभिन्न सहकारीहरूले रुपन्देहीका विभिन्न स्थानहरूमा बचतकर्ताबाट संकलन गरेको करोडौं रुपैयाँ फिर्ता नगरी फरार भएपछि बचतकर्ताहरू बिचल्लीमा परेका छन्। सर्वसाधारणले बचत गरेको रकम फिर्ता नगरी सहकारी बन्द गरेर फरार सञ्चालकलाई कानुनी दायरामा ल्याइने मन्त्री पाण्डेले आश्वासन दिए। 

स्थानीयस्तरमा सञ्चालित सहकारीमा कम समस्या देखिए पनि बाहिरबाट आएका व्यक्तिद्वारा सञ्चालित सहकारीको गतिविधिबाट नागरिकले सास्ती खेप्नुपरेको उनको भनाइ थियो। बाहिरबाट आएर सटर भाडामा लिएर बसेका सहकारीहरूले धेरै ब्याज दिने लोभमा बचतकर्ता फसेकाले सचेतना आवश्यक रहेको मन्त्री पाण्डेले बताए। समस्या समाधानका लागि एक्लाएक्लै अघि बढ्नुभन्दा सामूहिक रूपमा अघि बढ्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा सिद्धार्थ युवा सञ्जालका अध्यक्ष एवं गृहमन्त्री पाण्डेयका राजनीतिक सल्लाहकार बैजनाथ गुप्ताले सहकारीका सञ्चालकको सम्पत्ति रोक्का गराएरै भए पनि बचतकर्तालाई न्याय दिने बताए।
 

सुझावित समाचार