पुँजीगत बजेट खर्चमा स्थानीय तहहरू पनि संघीय सरकारजस्तै कमजोर देखिएका छन् । अझ देशभरका स्थानीय तहको नजर पर्ने काठमाडौं उपत्यकाका स्थानीय तह विकास निर्माणमा केन्द्रीकृत पुँजीगत खर्चमा निकै कमजोर देखिएको छन् । आर्थिक वर्ष ०७९/८० मा उपत्यकाका २१ स्थानीय तहमध्ये पनि काठमाडौं महानगरपालिकाको पुँजीगत खर्च अत्यन्तै कमजोर देखिएको छ ।
महानगरले पुँजीगततर्फ विनियोजित बजेटमध्ये जम्मा २५.८४ प्रतिशत मात्र रकम खर्च गरेको छ भने बुढानीलकण्ठ नगरपालिकाले जम्मा ३८ प्रतिशत मात्र खर्च गरेको छ । उपत्यकाका स्थानीय तहमध्ये सबैभन्दा धेरै भक्तपुरको चाँगुनारायण नगरपालिकाले ८१.६७ प्रतिशत रकम खर्च गरेको छ ।
स्थानीय शासनविज्ञ कृष्णप्रसाद सापकोटा भन्छन्–
संघीय सरकारमा जस्तै स्थानीय सरकारमा विकास बजेट (पुँजीगत) खर्च कमजोर देखिनुको मुख्य कारण कमजोर समय व्यवस्थापन, असल प्रवृत्ति नहुनु नै हो । अघिल्ला वर्षहरूमा विकास बजेट खर्चमा संघ र प्रदेशभन्दा स्थानीय तह अगाडि थिए । तर, यसपटक उही गति देखिन्छ । केही स्थानीय तह निमित्तका भरमा चल्नु, प्रमुख–उपप्रमुखबीच द्वन्द्वलगायतले पनि विकास बजेट खर्चमा प्रभाव पारेको छ ।
संघीय सरकारमा जस्तै स्थानीय सरकारमा विकास बजेट (पुँजीगत)खर्च कमजोर देखिनुको मुख्य कारण कमजोर समय व्यवस्थापन, असल प्रवृत्ति नहुनु रहेको स्थानीय शासनविज्ञ कृष्णप्रसाद सापकोटा बताउँछन् । ‘अघिल्ला वर्षहरूमा विकास बजेट खर्चमा संघ र प्रदेशभन्दा स्थानीय तह अगाडि थिए,’ सापकोटाले भने, ‘सयमको व्यवस्थापन गर्न नसक्नु, केही स्थानीय तह निमित्तका भरमा चल्नु, प्रमुख उपप्रमुखबीच द्वन्द्वलगायतले विकास बजेट खर्चमा प्रभाव पारेको हो ।’ उनका अनुसार विकास बजेट खर्च नहुँदा प्रत्यक्ष रूपमा जनताले सेवा–सुविधा प्राप्त गर्नबाट वञ्चित हुनुपरेको छ । ‘विकास बजेट खर्च नहुँदा जनताले सेवा–सुविधा प्राप्त गर्न सक्दैनन् । बजारमा पैसा चलायमान हुँदैन । सिंगो अर्थतन्त्रमै प्रभाव पार्छ । यो वर्ष रोकिएको योजना अर्को वर्ष बनाउँदा थप १५ देखि २० प्रतिशत लागत बढ्छ । जसकारण स्थानीय तहमा पनि पछौटेपन हाबी हुन्छ,’ उनले भने ।
यसकारण विकास बजेट कम खर्च
उपत्यकाका स्थानीय तहहरूमध्ये काठमाडौंपछि बुढानीलकण्ठले कम विकास बजेट खर्च गरेको छ । बुढानीलकण्ठ नगरापालिकाका प्रमुख मीठाराम अधिकारीका अनुसार प्राविधिकहरूले काम गर्न नसकेका कारण बजेट चलाउन नसकिएको हो । ‘करारमा राखिएका प्राविधिकले ‘स्लो’ काम गरिदिँदा विकासका काम गर्न सकेनौँ । सोहीकारण पुँजीगत बजेट कम खर्च भयो,’ प्रमुख अधिकारीले भने ।
महालक्ष्मी नगरपालिका प्रमुख हरिगोविन्द श्रेष्ठ भुक्तानी हुन धेरै बाँकी भएकाले विकास बजेट खर्च कम देखिएको बताउँछन् । ‘यहाँ ०७४ पछि अहिले सबैभन्दा धेरै विकास निर्माण भएको छ । तर, धेरै कामको भुक्तानी दिन बाँकी छ । त्यसैले पुँजीगत खर्च कम देखिएको हुन सक्छ,’ श्रेष्ठले भने ।
नागार्जुन नगरपालिका उपप्रमुख सुशीला अधिकारी पनि आफ्नो नगरपालिकामा धेरै विकास निर्माणका काम भएको, तर भुक्तानी नहुँदा नतिजा नदेखिएको बताइन् । उनका अनुसार नगरपालिकाले करिब ५० करोड रकम भुक्तानी दिन बाँकी छ ।
कुन स्थानीय तहमा कति खर्च ?
उपत्यकाका २१ स्थानीय तहमध्ये गत आवमा सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकाले विकास बजेट खर्च गर्न सफल भएको छ । चाँगुनारायणले आर्थिक वर्ष सुरु हुनेबित्तिकै उपभोक्ता समिति सक्रिय बनाएर काम थालेकाले विकास बजेट धेरै खर्च भएको हो । नगरपालिकाका प्रवक्ता जनक खत्रीका अनुसार स्थानीय तहमा धेरैभन्दा धेरै काम उपभोक्ता समितिमार्फत हुने हुनाले समितिलाई सक्रिय बनाउँदै नियमनमा ध्यान दिएको छ ।
काठमाडौं महानगरपालिका (२५.८४ प्रतिशत खर्च) : महानगरले आर्थिक वर्ष ०७९/८० मा पुँजीगततर्फ १४ अर्ब ४८ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये महानगरले तीन अर्ब ७४ करोड ५२ लाख ४४ हजार अर्थात् २५.८४ प्रतिशत मात्र खर्च गरेको छ ।
चन्द्रागिरि नगरपालिका (५९.६२ प्रतिशत खर्च) : चन्दागिरिले गत आवमा पुँजीगततर्फ खर्च एक अर्ब २६ करोड विनियोजन गरेको थियो । जसमध्ये ७५ करोड ५३ लाख अर्थात् ५९.६२ प्रतिशत खर्च गरेको छ ।
नागार्जुन नगरपालिका (४१.२८ प्रतिशत मात्र खर्च) : नागार्जुनले पुँजीगततर्फ एक अर्ब नौ करोड रकम विनियोजन गरेको थियो । जसमध्ये ४५ करोड अर्थात् ४१.२८ प्रतिशत मात्र खर्च भएको छ ।
कीर्तिपुर नगरपालिका (५९.८६ प्रतिशत मात्र खर्च) : कीर्तिपुरबाट ८४ लाख ६० हजार पुँजीगत बजेट विनियोजन भएको थियो । जसमध्ये ५० हजार ६५ लाख अर्थात् ५९.८६ प्रतिशत मात्र खर्च भएको छ ।
टोखा नगरपालिका (६६ प्रतिशत रकम खर्च) : पुँजीगततर्फ दुई अर्ब १४ करोड ४५ लाख विनियोजन भएको थियो । यसमा एक अर्ब ४१ करोड ५४ लाख ५० हजार अर्थात् ६६ प्रतिशत रकम खर्च भएको छ ।
दक्षिणकाली नगरपालिका (७२.३३ प्रतिशत खर्च) : दक्षिणकालीको पुँजीगततर्फ ५१ करोड ६४ लाख बजेट विनियोजन भएको थियो । जसमध्ये ३७ करोड ३५ लाख अर्थात् ७२.३३ प्रतिशत खर्च भएको छ ।
शंखरापुर नगरपालिका (४६.५७ प्रतिशत रकम खर्च) : शंखरापुरले ९१ करोड ९० लाख १६ हजार विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ४२ करोड ७८ लाख ८५ हजार अर्थात् ४६.५७ प्रतिशत रकम मात्र खर्च भएको छ ।
तारकेश्वर नगरपालिका (६७.३८ प्रतिशत रकम खर्च)ः पुँजीगततर्फ नगरपालिकाले एक अर्ब ८५ करोड २७ लाख ८१ हजार विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये नगरपालिकाले एक अर्ब २४ करोड ८४ लाख ३८ हजार अर्थात् ६७.३८ प्रतिशत रकम खर्च गरेको छ ।
बुढानीलकण्ठ नगरपालिका (३८ प्रतिशत मात्र खर्च) : पुँजीगततर्फ नगरपालिकाले दुई अर्ब १५ करोड ६७ लाख विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये नगरपालिकाले ८१ करोड ९५ लाख अर्थात् ३८ प्रतिशत मात्र खर्च गरेको छ ।
कागेश्वरी–मनोहरा नगरपालिका (६० प्रतिशत मात्र खर्च) : नगरपालिकाले पुँजीगततर्फ एक अर्ब ४७ करोड ४२ लाख ८९ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये ८८ करोड ३८ लाख ७४ हजार अर्थात् ६० प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
गोकर्णेश्वर नगरपालिका (६८.२ प्रतिशत रकम खर्च) : गोकर्णेश्वरले पुँजीगततर्फ एक अर्ब आठ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये ७३ करोड ७२ लाख हजार अर्थात् ६८.२ प्रतिशत रकम खर्च भएको छ ।
भक्तपुर नगरपालिका (५४.२७ प्रतिशत रकम खर्च) : पुँजीगतर्फ ७३ करोड ५८ लाख विनियोजन भएको थियो । जसमध्ये ३९ करोड ९२ लाख ९० हजार अर्थात् ५४.२७ प्रतिशत रकम मात्र खर्च गरेको छ ।
चाँगुनारायण नगरपालिका (८१.६७ प्रतिशत खर्च) : एक अर्ब आठ करोड ५६ लाख विनियोजन भएको थियो । जसमध्ये ८८ लाख ६६ हजार अर्थात् ८१.६७ प्रतिशत खर्च भएको छ ।
सूर्यविनायक नगरपालिका (६३ प्रतिशत रकम खर्च) : पुँजीगततर्फ एक अर्ब दुई करोड विनियोजन भएको थियो । जसमध्ये ६४ करोड ७६ लाख अर्थात् ६३ प्रतिशत रकम खर्च भएको छ ।
मध्यपुरठिमी नगरपालिका (५३.९९ प्रतिशत रकम खर्च) : पुँजीगततर्फ एक अर्ब ११ करोड विनियोजन भएको थियो । ६० करोड ११ लाख अर्थात् ५३.९९ प्रतिशत रकम खर्च भएको छ ।
ललितपुर महानगरपालिका (५५ प्रतिशत खर्च) : ललितपुरले गत आर्थिक वर्षमा ५५ प्रतिशत मात्रै विकास बजेट (पुँजीगत)खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार महानगरले गत आर्थिक वर्ष दुई अर्ब ५५ करोड बजेट मात्रै खर्च गर्न सफल भएको हो । महानगरले पुँजीगत बजेटतर्फ चार अर्ब ६३ करोड विनियोजन गरेको थियो ।
गोदावरी नगरपालिका (६८.१७ प्रतिशत खर्च) : नगरपालिकाले पुँजीगततर्फ एक अर्ब ४३ करोड ३० लाख बजेट विनियोजन गरेको थियो । विनियोजन भएको बजेटमध्ये ६८.१७ प्रतिशत मात्र खर्च भएको छ ।
महालक्ष्मी नगरपालिका (४३.१७ प्रतिशत खर्च) : एक अर्ब ७५ करोड ५६ लाख पुँजीगत बजेट विनियोजन भएको थियो । जसमध्ये ७५ करोड ८० लाख अर्थात् ४३.१७ प्रतिशत मात्र रकम खर्च भएको छ ।
कोन्ज्योसोम गाउँपालिका (७८.३७ प्रतिशत खर्च) : गाउँपालिकाले पुँजीगततर्फ १६ करोड ३१ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये १२ करोड ७८ लाख अर्थात् ७८.३७ प्रतिशत बजेट खर्च भएको छ ।
बागमती गाउँपालिका (७९.५९ प्रतिशत खर्च) : पुँजीगततर्फ २२ करोड ८८ लाख बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमध्ये १८ करोड २० लाख अर्थात् ७९.५९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
महाँकाल गाउँपालिका (५६.७९ प्रतिशत खर्च) : महाँकालको पुँजीगततर्फ १३ करोड ७१ लाख ८० हजार विनियोजन भएको थियो । जसमध्ये सात करोड ७९ लाख १० हजार खर्च भयो । अर्थात् गाउँपालिकाले जम्मा रकमको ५६.७९ प्रतिशत मात्र रकम खर्च गर्न सक्यो ।
संघीय सरकारमा जस्तै स्थानीय सरकारमा विकास बजेट (पुँजीगत) खर्च कमजोर देखिनुको मुख्य कारण कमजोर समय व्यवस्थापन, असल प्रवृत्ति नहुनु नै हो । अघिल्ला वर्षहरूमा विकास बजेट खर्चमा संघ र प्रदेशभन्दा स्थानीय तह अगाडि थिए । तर, यसपटक उही गति देखिन्छ । केही स्थानीय तह निमित्तका भरमा चल्नु, प्रमुख–उपप्रमुखबीच द्वन्द्वलगायतले पनि विकास बजेट खर्चमा प्रभाव पारेको छ ।