अधिवक्ता भगवती पाण्डे पक्राउ, धर्नामा सहभागीविरुद्ध प्रहरीको लाठी चार्ज

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

प्रहरीले अधिवक्ता भगवती पाण्डे शीतललाई पक्राउ गरेको छ। तामाङ र मागर समुदायको जाहेरीपछि प्रहरीले अधिवक्ता पाण्डेलाई पक्राउ गरेको हो। 

उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखिएको छ। अधिवक्ता पाण्डेले प्राइम टिभीबाट प्रसारित अन्तर्वार्तामा तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारलाई लिएर टिप्पणी गरेकी थिइन्। 

त्यसयता तामाङ र मगर सुमदाय उनीविरुद्ध आक्रोशित हुँदै आएका छन्। अधिवक्ता पाण्डेलाई पक्राउ गर्न उनीहरूले दुई साताअघि नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए। 

विवादास्पद अभिव्यक्तिको विरोधमा उनीहरूले केही दिनयता जिल्ला प्रहरी परिसर टेकुमा धर्ना दिँदै आएका छन्। धर्नामा सहभागीविरुद्ध प्रहरीले बुधबार लाठीचार्ज गरेको छ। 

लाठी चार्जबाट निरुता मोक्तानको खुट्टा भाँचिएको छ भने ४२ धर्नाकर्मीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई बुधबार साँझ रिहा गरिएको छ।

सुझावित समाचार