अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा ४५ देशलाई पछि पार्दै दुई नेपाली युवाले जिते तेस्रो स्थान

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

ग्रीसको भोलसमा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा दुई नेपाली युवाले तेस्रो स्थान हासिल गरेका छन्। गत जुलाई २४ देखि अगस्ट २ सम्म चलेको ओलम्पियाडमा नेपालको तर्फबाट भिक्टर हमाल र भार्गभ चटौतले ब्रोन्ज मेडल जित्दै तेस्रो स्थान हासिल गरेका हुन्।

यसअघिको संस्करणमा पनि नेपाली युवा अंकित सुवेदी र अजर गुरुङले तेस्रो स्थान नै ल्याएका थिए। त्यतिवेला ४२ देशको सहभागिता रहेको थियो। अहिले भने उक्त प्रतियोगितामा नेपालसहित ४८ देशका विद्यार्थीहरूको सहभागिता रहेको थियो। जसमध्ये नेपाली युवाले ४५ देशलाई पछि पारेका हुन्।

उक्त प्रतियोगिताको विजेता भने क्यानडाका डेनियल जान र उपविजेता टर्कीका अल्प एलचिन रहेका छन्। नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा २०२२ को डिसेम्बरमा र राष्ट्रिय प्रतिस्पर्धा २०२३ को फेब्रुअरीमा सम्पन्न भएको थियो। जसमध्ये पाँच उत्कृष्ट प्रतिस्पर्धीहरू अनुभव ढुंगाना, अनुस्का सुवेदी, भागर्भ चटौत, भिक्टर हमाल र मयङ्कशंकर झाले अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा भाग लिएका थिए।

तीमध्ये हमाल र चटौतले तेस्रो स्थान हासिल गर्दै ब्रोन्ज मेडल ल्याएको नेपाल इकोनोमिक्स ओलम्पियाडका निर्देशक तथा टिम लिडर दीपक भण्डारीले जानकारी दिए।

सुझावित समाचार