विगत लामो समय जिल्ला सदरमुकाम मार्तडी बजारमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका बाजुरा जिल्ला बुढीगंगा नगरपालिका– १० का भोलाराम जैसी होटेल व्यवसाय छोडेर गाउँ फर्के।
६ वर्षअघि गाउँमा फर्केका जैसीले कृषि पेसा अँगाले। गाउँमा आएर करिब १० रोपनी जग्गामा तरकारी तथा फलफूल खेती सञ्चालन गरे । उनको अहिले मासिक आम्दानी एक लाखभन्दा बढी छ।
उनले आफूले उत्पादन भएको तरकारी तथा फलफूल सहर लगेर बिक्री गर्दै आएका छन्। उनले कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्रविधिक सहयोगमा ड्रागन फलको नमुना बगैँचा सुरु गरेको बताए। त्यसका लागि उनले चार लाख रुपैयाँ अनुदानसमेत पाएका छन्।
नेपाली युवाले कृषिलाई रोजगारीको प्रमुख पेसाको रूपमा अँगाल्न सके विदेश जान नपर्ने उनको सुझाव छ।