जुम्लामा आर्थिक वर्ष ०७९/८० मा सवारी कारबाहीबाट २६ लाख पाँच सय राजस्व संकलन भएको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार सो अवधिमा तीन हजार एक सयभन्दा बढी सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।
दुई सय ७५ वटा ट्रक तथा ट्यांकरबाट दुई लाख ११ हजार पाँच सय रुपैयाँ, दुई सय ६५ बस तथा मिनीबसबाट दुई लाख ११ हजार पाँच सय रुपैयाँ र चार सय ६७ कार, जिप तथा भ्यानबाट तीन लाख ८३ हजार रुपैयाँ जरिवानास्वरूप राजस्व संकलन भएको छ।
यसैगरी, दुई सय ७९ ट्याक्टरबाट दुई लाख ५६ हजार रुपैयाँ, एक हजार एक सय ५९ मोटरसाइकलबाट नाै लाख ५८ हजार रुपैयाँ र मदिरासेवन गरी सवारी चलाउने एक सय ५० चालकबाट एक लाख ५० हजार गरी २६ लाख पाँच सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख शरद चौधरीले जानकारी दिए।
यसअघिको वर्षमा दुई हजार पाँच सय १५ सवारीसाधन कारबाहीमा परेका थिए। जसबाट २२ लाख ८२ हजार राजस्व संकलन भएको थियो। यो आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको संख्यामा वृद्धि भएको प्रमुख चौधरीले बताए।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न गत वर्ष जिल्लाका विभिन्न स्थानमा तीन सय १६ पटक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियाे।