नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको हो।
माओवादीको केन्द्रीय कमिटी बैठक बुधबार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दै छ। केही दिनअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरे पनि स्थायी कमिटीले सो निर्णय उल्ट्याएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले भने, ‘अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निर्णयमा पुग्यौँ।’
त्यस्तै, बैठकले केन्द्रीय कमिटी निर्माणमा विधानविपरीत कामहरू भएको भन्दै आजै विधान संशोधन गरेर भोलि केन्द्रीय कमिटी सदस्य थप्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए। आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरूले बोल्ने उनले बताए।