होटेल क्राउन इम्पेरियलको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

बुधबार, १७ साउन, २०८०
डिजिटल संस्करण

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियलको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धन गर्ने भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेलका प्रबन्ध सञ्चालक सुधीरमान मास्केले हस्ताक्षर गरेका हुन् । 

होटेलले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको एक अर्ब १५ करोड रुपैयाँबराबरको एक करोड १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको जनाइएको छ । यस कम्पनीले ०७६ सालबाट काठमाडौंको रविभवनमा चारतारे होटेल क्राउन इम्पेरियल सञ्चालनमा ल्याएको छ ।

एक सय ३१ कोठा रहेको उक्त होटेलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्म अट्ने दुईवटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्म अट्ने दुईवटा मिटिङ रुम तथा तीन सयजनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधा रहेको जनाइएको छ । 

सुझावित समाचार