हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य पदक जितेका छन्। आफ्नो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै उनले पुरुष ७३ केजी तौलसमूहमा तीन कांस्य पदक हात पारेका हुन्।
उनले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा पदक जितेको टिम व्यवस्थापक रामसुन्दर श्रेष्ठले जानकारी दिए। भारतमा चलिरहेको प्रतियोगितामा हेमन्तले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार बहन गरे।
उनको स्पर्धामा पाँच राष्ट्रका ६ खेलाडी सहभागी थिए। उज्वेकिस्तानका दुई खेलाडीले भाग लिएका थिए। थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते। प्रतियोगितामा नेपालबाट दुई खेलाडी सहभागी छन्। पुरुष ९६ केजीमा सञ्जय यादवले बुधबार प्रतिस्पर्धा गर्नेछन्। सञ्जयको पनि यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।