बिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्ली दुईतर्फी उडानमा सहभागी यात्रुका लागि २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउने भएको छ। एयरलाइन्सका अनुसार ‘स्पा’ सुविधा होटेल सोल्टी र र्याडिसनस्थित ‘ट्रयाङ्कुलिटी स्पा’मा उपलब्ध हुनेछ।
‘स्पा’ जाँदा यात्रुले ‘बोर्डिङ पास’ भने अनिवार्य रूपमा सँगै लिएर जानुपर्नेछ। सोही पासका आधारमा यात्रुलाई २५ देखि ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा उपलब्ध गराउनेछ। एयरलाइन्सले यात्रुको सुविधाका लागि ‘ट्रयाङ्कुलिटी स्पा’सँग सोमबार सम्झौता गरेको हो।
सम्झौताअनुसार ‘बिजनेस र प्रिमियम इकोनोमी क्लास’मा यात्रा गर्ने यात्रुले ३५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन भने इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुले २५ प्रतिशत छुटमा ‘स्पा’ सुविधा लिन सक्नेछन्। एयरलाइन्सका नेपालस्थित कार्यकारी अधिकृत प्रशन्न अधिकारीले यात्रुलाई विशेष सुविधा दिने उद्देश्यले यस्तो योजना ल्याएको बताए।
उनले भने, ‘एयरलाइन्सले विगत चार वर्षदेखि नेपालमा ‘वर्ल्ड क्लास’ सुविधासहित यात्रुलाई सेवा दिँदै आएको छ। विशेष छुटसहित ‘स्पा’ सुविधा यहीअन्तर्गतको एउटा ‘प्याकेज’ हो । यसका लागि होटेलसँग सम्झौता भइसकेको छ। यो तत्काल कार्यान्वयनमा आउनेछ। सुविधा लिने यात्रुले ‘बोर्डिङ पास’ भने अनिवार्य रूपमा लिएर जानुपर्नेछ।’
एयरलाइन्समा स्थापित भारतीय कम्पनी टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी छ। नेपालसहित यसले विश्वका विभिन्न ३० गन्तव्य स्थानमा नियमित उडान भर्दै आएको छ। एयरलाइन्सले विद्यार्थीका लागि २० किलोसम्मको ‘लगेज’ लैजाने सुविधा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ।