प्रेरक प्रसंग : धक्का दिने को हो ?

मंगलबार, १६ साउन, २०८०
डिजिटल संस्करण

कुनै समय एउटा सहरमा एकजना धनी मानिस बस्थे । उनको अनौठो सोख थियो । उनले आफ्नो घरको हाताभित्र बनाएको एउटा ठूलो स्विमिङ पुलमा ठुल्ठूला गोही, सर्प आदि पालेका थिए । एकपटक उनले आफ्नो घरमा ठूलो भोजको आयोजना गरेर धेरै पाहुनालाई आमन्त्रित गरे । 

पार्टीमा खानपिन चल्दै गर्दा उनले सबै पाहुनालाई स्विमिङ पुलमा लगे र भने– साथीहरू, यो पोखरीमा निकै खतरनाक प्राणी छन् । यदि तपाईंहरूमध्ये कसैले पौडी खेलेर यसलाई पार गर्नुभयो भने म उसलाई एक करोड रुपैयाँ या मेरी छोरी दिनेछु । सबैले पोखरीतिर हेरे तर कसैले पनि हामफाल्ने हिम्मत गरेनन् । तर, अचानक त्यहाँ ‘छप्ल्याक्क’को आवाज आयो । सबैले आवाज आएतिर हेर्दा एउटा केटो गोही, सर्प आदिबाट जोगिँदै पौडिन थाल्यो र उसले सुरक्षित रूपमा पोखरी पार पनि गर्यो । 

उसको हिम्मत देखेर सबै छक्क परे । धनी मानिसले कसैले यस्तो काम गर्न सक्छ भन्ने कल्पना पनि गरेको थिएन । यतिका वर्षमा पोखरीको पानी छुन पनि कसैले हिम्मत गरेको थिएन ! व्यापारीले त्यस केटालाई बोलाएर भने, ‘तिमीले निकै बहादुरीको काम गर्यौ, तिमी साँच्चै बहादुर रहेछौ । म तिमीलाई वाचाअनुसारको इनाम दिन्छु । भन, तिमी कुनचाहिँ इनाम लिन चाहन्छौ ?’ केटाले यताउता हेरेर भन्यो– इनाम त पछि लिँदै गरुँला । पहिले यो भन्नुस् त, मलाई धक्का दिएर पोखरीमा खसाउने को हो ?

सुन्दा सानो ठट्टा भए पनि यस कथामा एउटा ठूलो सन्देश लुकेको छ– त्यो केटासँग पौडी खेल्ने क्षमता थियो । तर, ऊ आफैँ हाम फाल्न सकिरहेको थिएन । तर, कसैले धकेलिदिँदा उसले पोखरी पार गर्यो । यदि उसलाई कसैले धक्का नदिएको भए, उसले कहिल्यै हाम फाल्ने थिएन र पोखरी पार गर्ने पनि थिएन । हामीले जीवनका चुनौतीहरूमा हाम नफाली हार स्वीकार गर्छौं । तर, हामीले आफ्नो क्षमतामा विश्वास गरेर जीवनमा प्राप्त अवसरहरूको सदुपयोग गर्नबाट चुक्नु हुँदैन ।

सुझावित समाचार