एमालेले गरेको संसद् अवरोध खुलाउन छलफल : कार्यव्यवस्था परामर्श समितिमा टुंगो लगाउने प्रधानमन्त्री, देउवा र ओलीबीच सैद्धान्तिक सहमति

सोमबार, १५ साउन, २०८०
डिजिटल संस्करण

प्रमुख विपक्षी दल एमालेले गरेको संसद् अवरोध खुलाउने विषयमा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आइतबार छलफल भएको छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको संसद् बैठकअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति गरेर संसद् खुलाउन तीन नेताले सैद्धान्तिक सहमति गरेका छन् । 

ओलीसहितको छलफलअघि प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग बालुवाटारमै अलग्गै पनि छलफल गरेका थिए । ओली बालुवाटार पुगेपछि शीर्ष नेताहरूबीच विषयकेन्द्रित छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । 

‘अवरुद्ध संसद् खुलाएर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उहाँहरूबीच छलफल भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘प्रधानमन्त्रीले संसद् खुलाउने गरी छलफल सकारात्मक दिशामा अगाडि बढेको जानकारी गराउनुभएको छ ।’ संसद् खुलाउने विषय संसद्कै क्षेत्राधिकार भएकाले शीर्ष तहमा सैद्धान्तिक कुराकानी मात्रै भएको र सोमबार बस्ने संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकले नै छलफल गरेर टुंगो लगाउने पनि आचार्यले बताए । 

एमालेले एक क्विन्टल सुन तस्करीको नैतिक जिम्मेवारी गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले लिनुपर्ने, संसद्बाट उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही सुनिश्चित गर्नुपर्ने माग राख्दै गत १० साउनमा बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो । एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ साउनसम्मका लागि स्थगित गरेका थिए । संसद् बैठक अवरोध भएपछि सत्तापक्ष र प्रमुख विपक्षीबीच शीर्ष तहमा आइतबार पहिलो औपचारिक संवाद भएको हो ।

सुझावित समाचार