प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयनमा ल्याएको बागमती प्रदेश सरकारले आइतबार प्रदेशका दुई कर्मचारीलाई एघारौँ तह (प्रदेश सचिवमा) बढुवा गर्ने निर्णय गरेको छ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवातर्फका नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फका लोकनाथ रेग्मीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए।
जम्कट्टेलका अनुसार बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १५ को उपदफा १ बमोजिम कार्की र रेग्मीलाई एघारौँ तहमा बढुवा गरेको हो। उनका अनुसार दसौँ तहका जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका निमित्त निर्देशक कार्की र यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका निमित्त निर्देशक रेग्मीलाई बढुवा समितिको सिफारिसमा एघारौँ तहमा बढुवा गरिएको हो।
प्रदेश सरकारले यसअघि पनि असार २० गते प्रदेश निजामती सेवा ऐनले व्यवस्था गरेअनुसार प्रदेशका दुईजना कर्मचारीलाई एघारौँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने गरेको थियो। प्रदेश सरकारको तत्कालीन निर्णयअनुसार एघारौँ तहमा बढुवा भएका डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीले नियुक्ति लिएर जिम्मेवारीसमेत पाइसकेका छन्। प्रदेश सरकारले उनीहरूलाई शिक्षा एवं प्रशासन सेवातर्फ एघारौँ तह (प्रदेश सचिव)मा बढुवा गरेको थियो।
यस्तै, आइतबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरूको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
बैठकले सरकारमातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए। यसैगरी, मन्त्रिपरिषद् बैठकले प्रदेशको श्रमसम्बन्धी नीतिसमेत स्वीकृत गर्ने निर्णय गरेको उनले बताए।