ठेकेदारले ढिलासुस्ती गरेपछि स्थानीयद्वारा खाँदबारी—मानेभञ्ज्याङ सडक अवरुद्ध

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

संखुवासभाको सदरमुकाम खाँदबारी—मानेभञ्ज्याङ सडक स्थानीयले अवरुद्ध पारेका छन्। आइतबार अरुण उपत्यका सामुदायिक विकास क्लबले विज्ञप्ति जारी गर्दै सडक मर्मतको माग गर्दै खाँदबारीको लभिङहिल—मानेभञ्ज्याङ—चिसोपानी–ठूलोढुंगासम्म सडकखण्ड अवरुद्ध पारेका हुन्।

वर्षौंदेखि हिलाम्मे र खाल्डो नै खाल्डो भएको सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै यातायात सञ्चालन हुनै नसक्ने अवस्था हुँदासमेत सरोकारवाला निकायहरू मौन बसेको भन्दै स्थानीयले सडक बन्द गरेका हुन्। बीच बाटोमा बाँसले बारेर ठूलोढुंगा र गैरीपांमा सडक बन्द गरिएको छ।

यसअघि साउन ५ गते क्लबले जिल्ला प्रशासन कार्यालय, उत्तर–दक्षिण कोसी सडक कार्यालय, अरुण तेस्रो एसजेभिएनलगायतका निकायहरूलाई ज्ञापनपत्र बुझाएका थिए। आश्वासन पाए पनि सडक मर्मत नभएपछि बन्द नै गर्नुपरेको क्लबका अध्यक्ष जिल्लामान राईले बताए।

‘ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सडक निर्माणमा लापरबाही गरेर वर्षाको समयमा सडक मर्मत गरेको छैन। ठेकेदार कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण पैदल यात्रा गर्नसमेत समस्या भएको छ। सडकको अवस्थाका बारेमा पटक-पटक सडक विभाग र सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि बाध्य भएर बन्द गरिएको हो,’ उनले भने।

उक्त सडकखण्ड अवरुद्ध भएपछि जिल्ला सदरमुकाम खाँदबारीदेखि उत्तरी क्षेत्र मकालु, चिचिला र भोटखोला गाउँपालिका आवातजावत गर्ने सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन्। त्यसको प्रत्यक्ष असर अरुण तेस्रोका ठूला मालबाहक सवारीसाधनहरूलाई समेत परेको छ।

खाँदबारीदेखि नुमसम्मको ३९ किमि सडक कालोपत्रे गर्ने भनेर ठेक्का लागेको दुई वर्ष नाघेको छ। आगामी ०८१ असार मसान्तसम्ममा उक्त सडक कालोपत्रे सम्पन्न हुनुपर्ने भए पनि ठेकेदार कम्पनीको लापरबाहीले दुई वर्षमा २५ प्रतिशत मात्रै काम भएको उत्तर–दक्षिण कोसी सडक कार्यालयले जनाएको छ।

राष्ट्रिय गौरवको विराटनगर—किमाथांका कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्रे गर्ने कामले गति लिन सकेको छैन। ठेकेदार कम्पनी शर्मा शिवशक्ति जेभीले सम्झौताअनुसार अब ११ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ।

सुझावित समाचार