मणिपुर हिंसाका विस्थापित नेपाल आउन थाले

आइतबार, १४ साउन, २०८०
डिजिटल संस्करण

करिब सयजना नेपालीभाषी मणिपुरवासी नेपाल आएको रिपोर्टिङ, त्यहाँ करिब ५० हजार नेपालीभाषी रहेको आकलन

भारतको पूर्वीराज्य मणिपुरमा विगत तीन महिनादेखि जारी जातीय हिंसाबाट विस्थापितहरू नेपालसमेत आउन थालेका छन् । करिब एक सयजना मणिपुरवासी नेपाल आएको प्रतिवेदन सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका छन् । मणिपुर हिंसा भारतीय राजनीतिको केन्द्रमा छ । 

डिआइजी राजेश बाँस्तोला प्रमुख, कोसी प्रदेश प्रहरी कार्यालय
मणिपुर हिंसाको नेपालमा सम्भावित असरबारे सजग छौँ । सीमा नाकामा शंकास्पद व्यक्तिमाथि निगरानी भइरहेको छ । त्यहाँबाट नेपालमा कति आए भन्ने विवरण छैन । तर, सम्भावित सुरक्षा जोखिमबारे हामी सचेत छौँ ।

नेपालको पूर्वीनाका हुँदै मणिपुरका बासिन्दा नेपाल आएका छन् । त्यसमध्ये धेरै जसो नेपालीभाषी छन् । ‘करिब एक सयजना नेपाल भित्रिएको भनेर सुरक्षा निकायबाट रिपोर्ट आएको छ,’ गृहका एक अधिकारी भन्छन्, ‘सीमानाकामा निगरानी बढाउन भनेका छौँ ।’ नेपालमा आउनेहरूमा धेरैजसो यहाँ आफन्त भएका भारतीय छन् । 

गत ३ मेदेखि मैतेई र कुकी समुदायबीच चलेको हिंसाका कारण मणिपुर अशान्त र तनावग्रस्त छ । एक समुदायले अर्काे समुदायमाथि आक्रमणका घटनाले सिंगो राज्यमा सुरक्षा व्यवस्था खस्किएपछि त्यहाँका बासिन्दा विस्थापित भइरहेका छन् । त्यसमध्ये कतिपय नेपाल आइपुगेका छन् । 

मणिपुरमा करिब ५० हजार नेपालीभाषी रहेको आकलन गरिएको छ । नेपालीभाषीमाथि कुनै पनि हिंसा नभए पनि लामो समयसम्म त्यहाँ जातीय हिंसा हुँदा त्यहाँका बासिन्दाहरू अस्थायी रूपमा विस्थापित हुन थालेका हुन् । मणिपुर नेपालको सीमाबाट करिब एक हजार किलोमिटर टाढा छ । 

खुला सीमाका कारण मणिपुर हिंसाका कारण विस्थापित भएकाहरू नेपाल  आउने सम्भावना भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई बताउँछन् । मणिपुर हिंसाले नेपालमा पार्न सक्ने असरबारे आफूहरू सचेत रहेको उनी बताउँछन् । 

कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेश बाँस्तोला मणिपुर हिंसाका कारण उताका बासिन्दा नेपाल आउँदा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले त्यस्ता व्यक्तिमाथि निगरानी हुने बताउँछन् । ‘सीमामा निगरानी बढाइएको छ,’ उनी भन्छन्,‘त्यहाँका कति बासिन्दा नेपाल आए भन्ने ठ्याक्कै विवरण भने छैन ।’ 

सुझावित समाचार