नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो खसेपछि आवगमन अवरुद्ध भएको हो।
जसका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रु अलपत्र परेका छन्। पहिरो पन्छाउने काम भइरहेको प्रहरीको भनाइ छ। आज बिहान १ बजे सोही स्थानमा खसेको पहिरो पन्छाएर ३ बजेदेखि सडक सञ्चालनमा ल्याइएको थियो। पहिरोका कारण यस सडक खण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ। रासस