बजार क्षेत्रका अव्यवस्थित तार हटाउन बेँसीसहरकाे निर्देशन

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

बेँसीसहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केबल नेटवर्किङका तारहरू हटाउन १५ दिने सूचना जारी गरेको छ। 

अव्यवस्थित र अनावश्यक तारले बेँसीसहर बजारलाई कुरूप बनाउनुका साथै सहरको सौन्दर्य घटाएको र दुर्घटनासमेत निम्त्याउने भएकाले नगरपालिकाले त्यस्ता तारको व्यवस्थापन गर्न निर्देशन दिएको हो।

बेँसीसहर नगर क्षेत्रमा डिजिटल केबल तथा नेटवर्किङ व्यवसायीहरूको सहभागितामा बसेको बैठकको निर्णयअनुसार बेँसीसहर बजार क्षेत्रमा रहेको बिजुली तथा टेलिफोनका पोलमा अव्यवस्थित रूपमा रहेका पुराना तथा प्रयोगमा नआएका केबल तथा नेटवर्किङका तारहरू १५ दिनभित्र हटाउन नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमनाथ कँडेलले सूचना जारी गरेका हुन्।

नगरपालिकाले यो सूचनाको म्यादपछि अव्यवस्थित तारहरू व्यवस्थापनको काम सुरु हुने भएकाले कोही–कसैको विवरण नखुलेका तार तथा केबलहरू छुट्न गएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले चेतावनी दिएको छ।

बेँसीसहर बजारमा विनाअनुमति केबल तथा इन्टरनेट प्रदायक कम्पनीहरूले नेपाल टेलिकम तथा विद्युतपोलमा जथाभावी तार टाँगेका छन्।  विद्युत् तथा टेलिफोनको पोल प्रयोग गरेबापत शुल्क तिर्नुपर्छ, तर अनुमति लिएकाहरूले पनि कतिपयले शुल्क तिरेका छैनन्।

सदरमुकाम बेँसीसहरमा अव्यवस्थित तारहरूको जालोहरू जताततै रहेको देखिन्छ। बेँसीसहरसहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार व्यवस्थापन  चुनौतीका रूपमा छ।
 

See More On

सुझावित समाचार