जलवायु घटना एल निनोको सुरुवातले तापक्रम उच्च पार्न मद्दत गरेसँगै विश्वभर चीनदेखि अमेरिकासम्मका देश गर्मीको लहरसँग जुध्दै छन् । वैज्ञानिकका अनुसार जलवायु परिवर्तन र एल निनो अत्यधिक गर्मीका प्रमुख कारक हुन्, जसले चीनको राजधानी सहर बेइजिङ र इटलीको रोममा तापक्रमको कीर्तिमानी तोड्नुका साथै करिब आठ करोड अमेरिकीलाई अत्यधिक गर्मीको चपेटामा लिएको छ ।
एल निनो एक प्राकृतिक घटना हो, जसले विश्वका धेरै भागमा उच्च तापक्रमलाई योगदान दिनुका साथै प्रशान्त महासागरमा उष्णकटिबन्धीय चक्रवात् सञ्चालन गर्छ र अमेरिका, एसिया र अन्य ठाउँमा वर्षा र बाढीको जोखिम बढाउँछ । युएस नेसनल ओसिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले गत जुनमै एल निनो हाल सक्रिय रहेको घोषणा गरिसकेको छ ।
पछिल्लो तीन वर्ष चिसो ‘ला निना’ मौसमी ढाँचाको प्रभुत्व थियो । तापक्रमका दृष्टिले विशेषगरी यो वर्ष चिन्ताजनक रहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । शक्तिशाली एल निनो पछिल्लोपटक सन् २०१६ मा पूर्ण रूपले सक्रिय थियो, सो वर्ष यो विश्व कीर्तिमानी तापक्रमको साक्षी बन्यो । मौसमविद्हरूले जलवायु परिवर्तनका कारण अत्यधिक तापक्रमसँगै एल निनोका कारण विश्वले थप कीर्तिमानी तापक्रमको सामना गर्ने अनुमान गरेका छन् ।
गत महिना साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार यस वर्ष एल निनोले विश्व अर्थतन्त्रमा ३० खर्ब अमेरिकी डलरको आर्थिक क्षति पुर्याउन सक्छ । चरम मौसमी घटनाले कृषि उत्पादन तथा निर्माण क्षेत्रलाई संकुचित बनाउँदा र रोगव्याधि फैलँदा अर्थतन्त्र खुम्चिनेछ ।
विशेषज्ञहरू महासागरमा अहिले के भइरहेको छ भनेर पनि चिन्तित छन् । एल निनोको अर्थ अहिले पूर्वी प्रशान्त महासागरको पानी सामान्यभन्दा तातो छ । युरोपेली युनियनको कोपर्निकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार विश्वभर नै मे र जुन महिनामा समुद्री तापक्रमले नयाँ रेकर्ड बनाएको छ । यसले चरम मौसमलाई अझ तीव्र र शक्तिशाली बनाउन सक्छ । ‘हामी अभूतपूर्व परिवेशमा छौँ,’ एनओएए क्लाइमेट पे्रडिक्सन सेन्टरका मौसमविद् मिसेल ल ह्युरेक्सले भने ।
गत महिना साइन्स जर्नलमा प्रकाशित एक अध्ययनअनुसार यस वर्ष एल निनोले विश्व अर्थतन्त्रमा ३० खर्ब अमेरिकी डलरको आर्थिक क्षति पुर्याउन सक्छ । चरम मौसमी घटनाले कृषि उत्पादन तथा म्यानुफ्याक्चरिङलाई संकुचित बनाउँदा र रोगव्याधि फैलाउन सहयोग गर्दा जिडिपी खुम्चिने बताइएको छ ।
जोखिममा रहेका देशका सरकारहरूले विशेष ध्यान दिइरहेका छन् । पेरुले एल निनोको प्रभाव र जलवायु परिवर्तनको सामना गर्न एक अर्ब ६ करोड डलर छुट्याएको छ भने चक्रवात्को जोखिममा रहेको फिलिपिन्सले प्रक्षेपित दुष्परिणामलाई सम्हाल्न विशेष सरकारी टोली गठन गरेको छ । एल निनो कसरी प्रकट हुन्छ र हामीले अपेक्षा गर्न सक्ने केही मौसमी घटनाबारे यहाँ चर्चा गरिएको छ :
कसरी निर्माण हुन्छ एल निनो ?
एल निनो पूर्वी प्रशान्त महासागरको पानी सामान्यभन्दा बढी तातो हुँदा जन्मिएको प्राकृतिक जलवायु ढाँचा हो । भूमध्यरेखा भएर प्रशान्त महासागरबाट पूर्वबाट पश्चिम बहँदा वा वायुको चाप परिवर्तन भएर बहाव सुस्त वा उल्टो हुँदा एल निनोको गतिविधि बन्छ । यद्यपि वैज्ञानिकहरू एल निनोको चक्र कसरी सुरु हुन्छ भन्नेमा पूर्ण रूपमा निश्चित भइसकेका छैनन् । पूर्व हुदै पश्चिम बहने ‘ट्रेड विन्ड’ले सूर्यका कारण तातेको सतहको पानीलाई प्रभावित गर्दा तातो पानीको लहर मध्य एवं पश्चिमी प्रशान्ततर्फ प्रवाहित हुन पुग्छ ।
पूर्वी प्रशान्तको पानी तातिँदा त्यसले बाफमार्फत वायुमण्डलमा उच्च ताप स्थानान्तरण गर्नुका साथै आँधीबेहरी पनि उत्पन्न गर्छ । ‘एल निनोले तातो पानीको बहाव सार्दा त्यो चट्याङ पर्ने ठाउँतर्फ सर्छ । यो नै एल निनोको पहिलो प्रभाव हो,’ एनओएए मौसमविद् टम डिलिबर्टोले भने ।
एल निनोले विश्वको मौसमलाई कसरी प्रभावित पार्छ ?
आँधीको गतिविधिमा हुने यो परिवर्तनले विश्वभर मौसम परिवर्तन बोकेर तीव्र गतिमा बग्ने वायुको प्रवाह (जसलाई ‘सबट्रोपिकल जेट स्ट्रिम’ भनिन्छ)लाई प्रभावित गर्छ । वायुको प्रवाह मार्गलाई दक्षिणतिर धकेल्दै समान अक्षांशहरूमा समान मौसम वितरण गर्ने प्रवाहमा बदलिदिन्छ ।
एल निनोको अवधिमा दक्षिणी अमेरिकाले चिसो र आद्र मौसम अनुभव गर्छ, जबकि पश्चिमी अमेरिका र क्यानडाका भाग न्यानो र सुक्खा हुन्छन् । वायुको बहाव परिवर्तन हुँदा एट्लान्टिकमा आँधी निर्माण हुन सक्दैन र आँधीजन्य गतिविधि कमजोर हुन्छन् । तर, प्रशान्त महासागरमा उष्णकटिबन्धीय चक्रवात् बलियो हुन पुग्छ । यसरी उठेका आँधी अक्सर जोखिममा रहेका टापुहरूतर्फ घुम्छन् । मध्य र दक्षिण अमेरिकाका केही भागले भारी वर्षाको अनुभव गर्छन् । तर, अमेजनकोे वर्षावन भने सुक्खाबाट पीडित हुन पुग्छ । अस्ट्रेलियाले चरम गर्मी, खडेरी र डढेलोको सामना गर्छ ।
एल निनोबाट अफ्रिकी महाद्वीपको सोमाली प्रायद्वीपलाई राहत मिल्न सक्छ । यो क्षेत्रले लगातार पाँचवटा सुक्खा वर्षाऋतुको सामना गरेको छ । ट्रिपल–डिप ला निना(जसले यस क्षेत्रलाई सुक्खा बनायो) को विपरीत एल निनोले यो प्रायद्वीपमा थप वर्षा ल्याउँनेछ । ऐतिहासिक रूपमा एल निनो र ला निना दुवै औसतमा प्रत्येक दुईदेखि सात वर्षमा आउने गर्छन् । एल निनो नौदेखि १२ महिनासम्म रहने गरेको छ । पूर्वी प्रशान्त क्षेत्रको पानी चिसो हुँदा ला निना एकदेखि तीन वर्षसम्म रहन्छ ।
जलवायु परिवर्तनले एल निनोलाई कसरी असर गरिरहेको हुन सक्छ भन्ने विषय ‘एउटा ठूलो अनुसन्धानमूलक प्रश्न हो,’ डिलिबर्टोले भने । जलवायु परिवर्तनले एल निनोको प्रभावलाई दोब्बर पार्नेछ (तातोमाथि तातो थपेर वा भारी वर्षामाथि वर्षा थपेर) । तर, यो घटनालाई जलवायु परिवर्तनले नै असर गरिरहेकोबारे भने अझै स्पष्ट छैन ।
जलवायु परिवर्तनले एल निनो र ला निनाबीचको सन्तुलनलाई परिवर्तन गर्छ वा गर्दैन भन्नेमा चाहिँ वैज्ञानिकहरू निश्चित छैनन् । उनीहरूका अनुसार यदि समुद्रको तापक्रम सबैतिर बढिरहेको छ भने यो चक्र परिवर्तन हुने सम्भावना छैन । किनकि यसो हुँदा एल निनो पछाडिको आधारभूत मेकानिकमा खासै परिवर्तन हुनेछैन ।