प्रेरक प्रसंग : छोराछोरीको कल

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण

एकजना वृद्धका दुई छोरा, दुई बुहारी र एक छोरी थिए । छोरीको पनि बिहे भइसकेको थियो । छोराछोरीका तर्फबाट उनका ६ जना नाति–नातिना पनि थिए । तर, काम र अध्ययनका सिलसिलामा बिदेसिएका छोराबुहारी नाति–नातिनालाई समेत लिएर गएका थिए । छोरी पनि पति र छोराछोरीसहित विदेशमै थिइन् । 

यता वृद्ध बाबु र आमा एक्लै थिए । छोराहरूले राम्रै घर बनाएर बाबुआमालाई सहरमै राखेका थिए । उनीहरूको खर्चको व्यवस्था पनि गरिदिएका थिए । छोराछोरीले नियमितजसो म्यासेन्जरमा भिडियो कल गरेर हालखबर सोध्ने गरेका पनि थिए । तर, बिस्तारै छोराछोरीको कल आउन कम हुँदै गयो । भन्थे– कामको अलि चाप छ । फुर्सदै हुँदैन । फुर्सद भएपछि पहिलेजस्तै नियमित कल गर्छौं । 

यसो भनेको केही समयपछि छोराछोरीको कल महिनामा एक–दुईपटक आक्कलझुक्कल मात्र आउन थाल्यो । हुँदाहुँदा त्यही आक्कलभुक्कल आउने कल पनि बन्द भयो । वृद्ध बाबुआमा छोराछोरीलाई आफ्ना तर्फबाट कल गर्नसमेत मेसो पाउँदैनथे । उताबाट कल आएपछि उठाउन मात्र मुस्किलले सक्थे । 

छोराछोरीको कल आउन बन्द भएपछि वृद्ध बाबुलाई आफ्नो मोबाइल बिग्रियो कि जस्तो लाग्यो । त्यसैले उनी एउटा मोबाइल मर्मत केन्द्रमा पुगे र आफ्नो मोबाइल बनाइदिन आग्रह गरे । मर्मत केन्द्रका प्राविधिकले वृद्धको मोबाइल राम्ररी परीक्षण गरे । उनको मोबाइलमा कुनै समस्या थिएन । उनले मोबाइल वृद्धलाई नै फिर्ता दिँदे भने– बाबा, हजुरको मोबाइलमा कुनै समस्या छैन, यो एकदम ठिक छ । 

प्राविधिकको कुरा सुनेपछि वृद्धले भलभली आँसु बगाउँदै भने– त्यसो भए यसमा मेरा छोराछोरीको कल किन आउँदैन त ?

सुझावित समाचार