रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ। 

विभागले सुन लुकाएको आशंकामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो। ती कार्टुनहरू ३ साउनमा सिनामंगलबाट ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका थिए। 

‘हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ,’ विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। 

यही ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयअगाडिबाट बरामद गरिएको झन्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

विभागले अन्य शंकास्पद क्षेत्रमा पनि छापा हान्ने र संलग्नको आशंका गरिएको व्यक्ति खोजी गरिरहेको जनाइएको छ। विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ। (रासस)

सुझावित समाचार