पाकिस्तानको पन्जाबमा बाढीका कारण सयौँ विस्थापित

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण
पाकिस्तानको पन्जाबमा बाढीका कारण सयौँ विस्थापित

तस्बिर : एपी

पाकिस्तानको पन्जाब प्रान्तमा चिनाब नदीको किनारमा आएको बाढीका कारण कम्तीमा ५० गाउँ डुबानमा पर्दा सयौँ मानिस विस्थापित भएका छन्।

मनसुनी वर्षाका कारण आएको बाढीका कारण यस महिनाको सुरुमा प्रान्तका अन्य गाउँबाट १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो। ‘चिनियोट फ्लड कन्ट्रोल रुम’का अधिकारी औरोङ जैबले मौसमी वर्षाका कारण पानीको सतह बढेको बताए। 

‘नदी कटानका कारण तल्लो भेगका गाउँहरू बाढीबाट प्रभावित भएका छन्,’ उनले एएफपीसँग भने। छिमेकी भारतले सिन्धु नदीमा पानी छोड्न स्लुइस गेट खोलेपछि पनि नदीको सतह प्रभावित भएको छ।

अधिकारीहरूले चिनाब नदीमा सुरक्षात्मक तटबन्ध निर्माण गर्ने योजना घोषणा गरेका छन्। तर, आगामी दिनमा अझै बाढी आउने चेतावनी दिएका छन्। दक्षिण एसियाको वार्षिक वर्षाको ७० देखि ८० प्रतिशत वर्षा जुनदेखि सेप्टेम्बरसम्म मनसुनले गर्छ।

करिब दुई अर्ब जनसंख्या भएको यस क्षेत्रमा लाखौँ किसानको जीविकोपार्जनका लागि यो महत्वपूर्ण छ। तर, यसले पहिरो र बाढी पनि ल्याउँछ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ।

पाकिस्तान दीर्घकालीन जलवायु जोखिमको खतरामा रहेका देशहरूमध्ये एक हो। सन् २०२२ मा देशको करिब एकतिहाइ भूभाग डुबानमा परेको विनाशकारी बाढीका कारण तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।

सुझावित समाचार