रौतहटको मौलापुरमा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्। प्राधिकरणका कर्मचारीहरूले लापरबाही गरेको भन्दै स्थानीयहरूले बिहीबार कार्यालयमा तालाबन्दी गरेका हुन्।
वितरण केन्द्रअन्तर्गतको मौलापुर– ३ गम्हरिया टोलमा विद्युतको तारमा आगो लागेर तार चुँडिएको थियो। सोबारेमा जानकारी दिन केन्द्रमा पटक-पटक फोन गर्दा कर्मचारीले फोन नउठाएको भन्दै आक्रोशित स्थानीयहरूले कार्यालयका सबै कर्मचारीलाई बाहिर निकाली मूलगेटमा ताल्चा लगाइदिएका हुन्। ताल्चा लगाएर उनीहरूले साँचो प्रहरीलाई बुझाएका छन्।
वितरण केन्द्रका प्रमुख दिनेश यादव भने आगो लागेर केबलतार चुँडिएको विषयलाई लिएर स्थानीयहरूले कर्मचारीलाई कुटपिट गर्दै त्यहाँबाट प्रसारित लाइन काट्न लगाई ताल्चा लगाइदिएको बताउँछन्। बारम्बार कर्मचारीहरूमाथि यसरी दुर्व्यवहार हुनु दुःखद रहेको भन्दै यादवले यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने बताए।
उक्त कार्यालयमा यसभन्दा पहिले पनि कर्मचारीमाथि कुटपिट भएको थियो। तालाबन्दी भएपछि बिहीबार बिहानैदेखि मौलापुर वितरण केन्द्रअन्तर्गतको विद्युत् लाइन अवरुद्ध भएको छ।