समाजवादी विद्यार्थी मोर्चा गठन, आलोपालो नेतृत्व

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण

समाजवादी मोर्चामा आबद्ध चार दलका विद्यार्थी संगठनहरूले समाजवादी विद्यार्थी मोर्चा गठन गरेका छन्। मातृ  पार्टीको जस्तै मोर्चाको नेतृत्व आलोपालो हुने विद्यार्थी नेताहरूले बताएका छन्।

माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियु, जसपाको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन र नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षले आलोपालो नेतृत्व गर्नेछन्।

मूलतः शैक्षिक मुद्दामा विद्यार्थी मोर्चा केन्द्रित हुने अनेरास्ववियुकी महासचिव आरती लामाले जानकारी दिइन्। उनले भनिन्, ‘हामी शैक्षिक मुद्दामा केन्द्रित हुन्छौँ। जनजीविका र राष्ट्रियताको विषय पनि छँदै छ।’ 

मोर्चालाई प्रदेश र जिल्ला तहसम्म विस्तार गरिने उनले बताइन्। नेविसंघलाई पनि सँगै लिएर अगाडि बढ्ने उनको भनाइ छ। ‘हामी स्ववियु निर्वाचनदेखि नै सामूहिक रूपमा अगाडि बढेका छौँ,’ उनले भनिन्।

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा आगामी आइतबार मोर्चा घोषणा कार्यक्रम राखिएको छ। कार्यक्रममा प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले अतिथि वक्ताको रूपमा सम्बोधन गर्नेछन्।

युवा संगठनहरूबीच पनि चरणबद्ध छलफल भइरहेको छ। अन्य जनवर्गीय संगठनहरूले मोर्चा गठनबारे छलफल गरिरहेका छन्। पार्टीको प्रदेश र जिल्ला तथा सबै जनसंगठनले पनि मोर्चा बनाउने तयारी रहेको छ।

सुझावित समाचार