एउटै पेट्रोलपम्पको कारोबार १.७९ अर्ब

आर्थिक वर्ष ०७८/७९ मा देशभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने पाँचवटा पम्प मात्रै थिए तर, गत आवमा अर्बभन्दा बढीको कारोबार गर्ने पम्पको संख्या १४ पुग्यो

बिहिबार, ११ साउन, २०८०
डिजिटल संस्करण
एउटै पेट्रोलपम्पको कारोबार १.७९ अर्ब

धादिङबेँसीमा रहेको भैरवी इन्टरप्राइजेज

सरकारी (सेना, प्रहरी, शसस्त्र र साझा सहकारी) पेट्रोलपम्पहरूको बाहुल्यलाई पन्छाउँदै धादिङबेँसीमा रहेको भैरवी इन्टरप्राइजेजले सबैभन्दा धेरै पेट्रोल र डिजेलको कारोबार गरेको छ । पम्पले गत आव ०७९/८० मा सबैभन्दा धेरै एक अर्ब ७९ करोड ४० लाख ११ हजारबराबरको पेट्रोल र डिजेल खरिद गरेको निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटले जनाएको छ । विगतका वर्षहरूमा धेरै तेल बिक्री गर्ने पेट्रोलपम्पको सूचीमा पाँच नम्बरभित्र नपर्ने भैरवी इन्टरप्राइजेजको व्यापारमा गत आवमा एक्कासी उछाल आएको देखिन्छ ।  देशभर रहेका एक हजार पाँच सयभन्दा बढी पम्पलाई उछिन्दै भैरवी इन्टरप्राइजेज पहिलो नम्बरमा उक्लिएको हो ।

आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख शैलेन्द्र भुसालका अनुसार सो पम्पले दैनिक १२ हजार लिटरसम्म पेट्रोल र ६० हजार लिटरसम्म डिजेल खरिद गरेको थियो । निगमको तथ्यांकअनुसार गत आवमा भैरवी इन्टरप्राइजेले कुल एक करोड आठ लाख ६१ हजार नौ सय ५७ लिटर पेट्रोलियम खरिद गरेको छ । त्यसमध्ये डिजेलको हिस्सा ८० प्रतिशतभन्दा बढी अर्थात् ८७ लाख ५४ हजार ३७ लिटर बिक्री गरेको निगमले जनाएको छ ।

पम्पका सञ्चालक टंक श्रेष्ठले जलविद्युत्गृह र सडक, भवनलगायतका निर्माण कम्पनीलाई बल्कमा डिजेल आपूर्ति भएकाले बिक्री परिमाण बढेको बताए । ‘म बल्कमा डिजेल बिक्री गर्छु । त्यसैले कारोबारमा धेरै सुधार भएको हो,’ उनले भने । जिल्ला सदरमुकाम धादिङबेँसीमा एउटा मात्रै पेट्रोलपम्प भएकाले पनि कारोबार बढी भएको हो ।

उनले गत आवमा ९८ करोडको कारोबार गरेका थिए । यो वर्ष दोब्बरले व्यापार बढाउँदै उनी देशभरमै सबैभन्दा धेरै तेल बेच्ने पम्प बनेका हुन् । यो पम्पले डिजेल बिक्रीका लागि तीन नोजल र पेट्रोलका लागि दुई नोजल राखेको छ । यति ठूलो कारोबार भए पनि भैरवी इन्टरप्राइजेज नमुना पम्प भने होइन । ‘यो साधारण पम्प हो । हामीले पम्पको सामान्य पुनर्निर्माण भने गरेका छौँ,’ सञ्चालक श्रेष्ठले भने । विगतका वर्षहरूमा सधैँ पहिलो नम्बरमा रहने पथलैयास्थित नेपाल प्रहरीले सञ्चालन गरेको ‘प्रहरी कल्याण केन्द्र’ पम्प यसपटक दोस्रो स्थानमा झरेको छ । सो पम्पले निगमको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयबाट गत आवमा एक अर्ब ७५ करोड ७३ लाख १८ हजारको डिजेल खरिद गरेर लगेको थियो ।

सो पम्पले मालवाहक ट्रक र लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनलाई डिजेल मात्रै बिक्री गर्दै आएको छ । त्यस्तै, नेपाल आर्मीले काठमाडौंको भद्रकालीमा सञ्चालन गरेको रिपुमर्दिनी पेट्रोल स्टेसनले एक अर्ब ७५ करोड ६७ लाख ९५ हजारको इन्धन निगमबाट खरिद गर्दै तेस्रो स्थानमा रहेको छ । असारको दोस्रो हप्तासम्म रिपुमर्दिनी धेरै तेल किन्ने पम्पको सूचीमा दोस्रो स्थानमा थियो, तर असार मसान्तसम्म आइपुग्दा पथलैयास्थित प्रहरी कल्याण केन्द्रको बिक्री बढेर रिपुमर्दिनी अघिल्लो आव ०७८–७९ को तुलनामा एक स्थान तल झर्दै तेस्रोमा धकेलिएको हो ।

अघिल्लो आव ०७८–७९ मा देशभर एक अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने पाँचवटा पम्प मात्रै थिए । तर, गत आवसम्म आइपुग्दा भने अर्बभन्दा बढीको कारोबार गर्ने पम्पको संख्या १४ वटा पुगेको छ । कारोबार रकम बढे पनि अघिल्लो आवको तुलनामा पेट्रोल र डिजेलको खपत भने घटेको छ । जसकारण पेट्रोलपम्पले बिक्री गर्ने पेट्रोल र डिजेलको परिमाण पनि घटेको निगमले जनाएको छ । 

उदाहरणका लागि आव ०७८–७९ मा आयल निगमबाट भद्रकालीस्थित रिपुमर्दिनीले एक करोड चार लाख लिटर, ललितपुरको पुल्चोकस्थित साझा पम्पले ९५ लाख ८९ हजार लिटर र भुक्तपुर फ्युल सेन्टरले ९१ लाख ५८ लिटर पेट्रोल र डिजेल खरिद गरेका थिए । 

गत आव ०७९–८० मा खरिद परिमाण घटाई आयल निगमबाट रिपुमर्दिनीले एक करोड तीन लाख लिटर, साझा पम्पले ९१ लाख १७ हजार लिटर र भक्तपुर फ्युल सेन्टरले ९० लाख नौ हजार लिटर किनेका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा बजारमूल्य बढेको र पम्पको खरिद लागत बढ्न गई कारोबार रकम धेरै देखिएको निगमको भनाइ छ ।

सुझावित समाचार