एसियन खेलाडीहरूको नजरमा एसियन खेलकुद प्रतियोगिता (एसियाड) मिनी ओलम्पिकजस्तै हो । ओलम्पिकमा सहभागी हुन नसक्ने खेलाडीले एसियाडको अनुभव लिन्छन् । एसियाडमा लगभग विश्वस्तरीय खेलाडीले प्रतिस्पर्धा गर्छन् । कमजोर राष्ट्रका खेलाडीले ती विश्वस्तरीय खेलाडीसँग प्रतिस्पर्धा गर्दै एक्सपोजर लिन्छन् । यसै कारण एसियन राष्ट्रका खेलाडीले एसियाडलाई मिनी ओलम्पिककै रूपमा लिने गरेका हुन् । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)मा आबद्ध देशहरूले एसियाडमा सहभागिता जनाउँछन् । नेपाल पनि ओसिएकै सदस्य हो । नेपालले आसन्न १९औँ एसियाडको तयारी गत वैशाखदेखि नै थालेको हो ।
नेपालका २९ खेलका दुई सय ३३ खेलाडीले एसियाडमा खेल्नेछन् । कोभिड महामारीका कारण चीनमा एक वर्ष ढिला गरी प्रतियोगिता हुन लागेको हो । यसअघि सन् २०२२ को १० देखि २५ सेप्टेम्बरसम्म प्रतियोगिता आयोजना हुने तय थियो । चीनमा महामारी रूपमा फैलिएको कोरोनाले प्रत्येक चार वर्षमा आयोजना हुनुपर्ने एसियाड प्रभावित हुन पुगेको हो ।
१९औँ एसियाडमा राम्रो नतिजा निकाल्न विभिन्न संघले आफ्ना खेलाडीलाई स्वदेश र वैदेशिक प्रशिक्षणलाई तीव्रता दिएका छन् । यसैक्रममा पदकको सम्भावना बोकेको बक्सिङ पनि एसियाडकै तयारीका लागि बिहीबार भारतको पन्जाब जाने भएको छ । बक्सिङ खेलाडीले पन्जाबमा मैत्रीपूर्ण प्रतियोगितासँगै एसियाडको तयारी गर्नेछन् । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो ।
खेलाडीले पन्जाब इन्स्टिच्युसन अफ स्पोर्टस् पटियालामा २७ जुलाईदेखि २७ अगस्टसम्म एक महिनाको प्रशिक्षण लिने नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बताएका छन् । पछिल्लोपटक बक्सिङले सन् २०१० को ग्वाङझाउ एसियाडमा कांस्य पदक जितेको थियो । १३ वर्षअघि नेपाललाई पदकविहीन हुनबाट बक्सिङले जोगाएको थियो । त्यसवेला दीपक महर्जनले नेपाललाई एक मात्र कांस्य पदक दिलाएका थिए । अहिले उनले नै खेलाडीलाई प्रशिक्षण दिलाइरहेका छन् ।
भारतमा प्रशिक्षण
राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा पदक सम्भावना बोकेका खेल र सहभागिताका रूपमा मात्र खेल निर्धारण गरेको छ । पदक सम्भाव्यता बोकेका खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने योजना परिषद्ले बनाएको छ । चार खेलका खेलाडीले भारतमा प्रशिक्षण लिने तयारीमा छन् । गल्फ, टेबलटेनिस, कुस्ती र बक्सिङले भारतमै एसियाडको विशेष प्रशिक्षण गर्नेछ । गल्फ र टेबलटेनिसका खेलाडीले भारतमा प्रशिक्षण गरिसकेका छन् । कुस्तीका खेलाडी नेपालगन्जमा एक साताको अभ्यासपछि भारततर्फ जानेछन् । बक्सिङका खेलाडी बिहीबार भारततिर लाग्नेछन् ।
गल्फबाट सुवास तामाङ, सद्भाव आचार्य, शुक्रबहादुर राई र युवराज भुजेलसँगै महिलामा काश्मिरा शाह र सुश्मा सिग्देलले एसियाडमा प्रतिस्पर्धा गर्नेछन् । कोलारस्थित तरुण सार्देसाई गल्फ एकेडेमीमा बन्द प्रशिक्षण गरिरहेका छन् । यसैगरी, क्यानोइङका खेलाडी आइसल्यान्डमा वैदेशिक प्रशिक्षणमा रहेका छन् । साइक्लिङ पनि वैदेशिक प्रशिक्षणका लागि तयारीमा जुटेका छन् ।
पोखरामा तीन खेलको तयारी
एसियाड तयारीका लागि पोखरामा विभिन्न खेलका खेलाडीले विशेष तयारी गरिरहेका छन् । नेपाली राष्ट्रिय महिला ह्यान्डबल, रग्बी र आर्चरीका खेलाडीले पोखरामा प्रशिक्षण गरिरहेका छन् । महिला ह्यान्डबल खेलाडीले पोखरामा दुई महिनाको विशेष बन्द प्रशिक्षणमा सहभागी हुँदै एसियाडमा जानेछन् । १९औँ एसियाडमा नेपाली महिला ह्यान्डबल टोलीको कप्तानी बन्दना राईले गर्नेछिन् । यसैगरी, रग्बीले १७ असारदेखि बन्द प्रशिक्षण सुरु गरेको थियो । यसपटक रग्बीबाट १५ जना पुरुष खेलाडीले भाग लिनेछन् ।
कराँते र तेक्वान्दोको तत्काल प्रशिक्षण स्वदेशमै
एसियाडको इतिहासमा कराँते र तेक्वान्दोले नेपाललाई धेरै पदक दिलाएका छन् । सन् १९९८ मा नेपाललाई पहिलोपटक रजत पदक तेक्वान्दोबाटै प्राप्त भएको थियो । बैंककमा भएको एसियाडमा सविता राजभण्डारीले तेक्वान्दोबाट नेपाललाई ऐतिहासिक रूपमा रजत दिलाइन् । त्यसपछि सन् २०१८ मा प्याराग्लाडिङले जाकार्तामा रजत दिलाएको थियो ।एसियाडमा दीपक विष्टको नाममा लगातार दुईपटका कांस्य पदक जितेको रेकर्ड छ ।
सन् २०१४ को इन्चोन एसियाडमा नेपालले कराँतेबाट एक मात्र कांस्य पदक जितेको थियो । एसियाडमा पदक सम्भावना बोकेको तेक्वान्दो र कराँतेका खेलाडीले अहिले नेपालमै प्रशिक्षण गरिरहेका छन् । यी दुवै खेलका खेलाडी छिट्टै वैदेशिक प्रशिक्षणमा सहभागी हुने सम्भावना छ । उसुका खेलाडी पनि वैदेशिक प्रशिक्षणको तयारीमा छ । परिषद्ले बक्सिङ, कराँते र तेक्वान्दोलाई पदक जित्ने खेलका रूपमा पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी, एथलेटिक्स र साइक्लिङका खेलाडीले पनि प्रशिक्षण यहीँ नै गरिरहेका छन् ।
टर्च र्यालीमा दीपक सहभागी हुने
भारतमा प्रशिक्षण गर्न जाने बक्सिङ टोलीको बिदाई गर्दै परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गर्विलो इतिहास फर्काउने अवसर भएको बताएका छन् । ‘एसियाली खेलकुदमा नेपाली बक्सिङको गर्विलो इतिहासलाई फर्काउनका लागि काम भइरहेको छ,’ उनले भने, ‘मैले संघलाई पनि पदक जित्ने लक्ष्यका साथ ठोस योजना ल्याउन पटक–पटक निर्देशन पनि दिइरहेको छु ।’ सन् २०१० पछि बक्सिङ खेलाडीको नतिजा सुखद रहेन । यसपटक बक्सिङले आफ्नो पुरानो साख फर्काउनेमा विश्वस्त भएको घिसिङको भनाइ छ ।
सन् १९८६ मा दक्षिण कोरियाको सिउलमा भएको १०औँ एसियाडमा बक्सिङका दलबहादुर रानामगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले कांस्य जितेका थिए । यसैबीच, १९औँ एसियाडअगाडि विभिन्न देशका प्रतिनिधिले गर्ने टर्च र्यालीमा पदक विजेता तथा बक्सिङका प्रशिक्षक दीपकले नेपालको प्रतिनिधित्व भएको जनाएका छन् । बक्सिङकै खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप बक्सिङकै प्रशिक्षकलाई अवसर सुम्पिएको घिसिङले बताए ।
प्राथमिकतामा रहेका तीन खेलमध्ये बक्सिङबाट आफू र समग्र राज्यले नै धेरै आशा गरेको उनले जनाए । पछिल्ला केही महिनादेखि बक्सिङ टोलीले तयारी गर्दै आइरहेको हो । भारतीय प्रशिक्षक शिव सिंहको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा दीपक, राज श्रेष्ठ र प्रवीण तुलाधर छन् ।
पोखरामा एक हप्ताको प्रशिक्षण र भारतको पन्जाबका बक्सरसँग मैत्रीपूर्ण प्रतियोगिता खेलेपछि नेपालको बक्सिङ टोलीले वैदेशिक प्रशिक्षणको यात्रा थालेको छ । भारतमा एक महिना विशेषणपछि एसियाडमा सहभागी हुने प्रशिक्षक दीपकले जानकारी दिए । भारतमा विशेष प्रशिक्षणका क्रममा नेपाली टोलीले भारतका लागि क्युबाका प्रशिक्षक फर्नान्डेज र अन्य भारतीय प्रशिक्षकसँग पनि प्रशिक्षण लिनेछन् ।
नेपालका सात पुरुष बक्सर र ६ महिला खेलाडीले एसियाडमा प्रतिस्पर्धा गर्नेछन् । पुरुष ५१ केजीमा रविन थापा, ५७ केजीमा बुद्ध लामा, ६३ केजीमा भूपेन्द्र थापा, ७१ केजीमा दीपेश लामा, ८९ केजीमा दीपक श्रेष्ठ, ९२ केजीमा रविन नेपाल र ९२ केजीमाथि आशिष दुवाडी छन् । महिला ५० केजीमा सुस्मा तामाङ, ५४ केजीमा मीनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा, ६० केजीमा संगीता सुनार, ६६ केजीमा विनिता थापामगर र ७५ केजीमा सरस्वती रानाले चीनमा चुनौती प्रस्तुत गर्नेछन् ।