कांग्रेसले पहिलोपटक आगामी केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठक समापन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले आगामी बैठक २ असोजमा बस्ने जानकारी दिए।
कांग्रेसको विधानमा प्रत्येक दुई–दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने लेखिए पनि त्यसको उल्लंघन हुँदै आएको थियो। यसपटकको बैठक पनि ११ महिनापछि बसेको थियो।
विधानले गरेको व्यवस्थाअनुसार बैठक बस्न नसकेपछि यसपटकको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यतालिका नै तोकेर दुई/दुई महिनामा बैठक बस्ने व्यवस्थाको प्रस्ताव गरेका थिए। सभापति देउवाले त्यसै प्रस्तावअनुसार आगामी बैठक २ असोजमा बस्ने घोषणा गरेका हुन्।
‘अब दुई/दुई महिनामा बैठक गर्नैपर्छ। अर्को बैठक असोज २ गते बस्ने गरी आजको बैठक समापन हुन्छ,’ देउवाले भने।