छात्रवृत्ति परीक्षामा भक्तपुरबाट सात सय ४३ जना सामेल हुँदै

बुधबार, १० साउन, २०८०
डिजिटल संस्करण

भक्तपुर नगरपालिकाले ११ कक्षामा उपलब्ध गराउने छात्रवृत्तिका लागि सात सय ४३ जनाले परीक्षा दिने भएका छन् । नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यका अनुसार छात्रवृत्ति छनोट परीक्षामा विज्ञानतर्फ तीन सय ७० जना, व्यवस्थापनमा तीन सय १५, मानविकीमा १३, शिक्षामा १९ र कानुनमा २६ गरी कुल सात सय ४३ जना परीक्षामा सहभागी हुँदै छन् । नगरपालिकाले शैक्षिक वर्ष ०८०÷८१ का लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहनेहरूका लागि १३ साउनमा भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा छनोट परीक्षा सञ्चालन गर्दै छ । 

यस्तै, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले नगरपालिकाले शिक्षाको जग बलियो पार्दै सामुदायिक र संस्थागत विद्यालयलाई समान ढंगले अगाडि बढाउन विविध शैक्षिक क्रियाकलाप गर्दै आएको बताएका छन् । ११ र १२ कक्षा सञ्चालित माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा छात्रवृत्ति सिफारिस र छनोट परीक्षाको विषयमा सोमबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् । विद्यार्थीलाई योग्य नागरिक बनाउन र आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन नगरपालिकाले ०७५ सालदेखि छात्रवृत्ति वितरण गर्दै आइरहेको उनले बताए ।

उनले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे अवगत गराउनुपर्ने बताउँदै भक्तपुरलाई शैक्षिक रूपमा अझ परिष्कृत ढंगले अगाडि बढाउन विद्यालयहरूको क्रियाशीलता आवश्यक रहेको सुझाव दिए । उपमेयर रजनी जोशीले विद्यार्थीलाई अध्ययनमा नियमितताका लागि छात्रवृत्तिले विशेष भूमिका खेलेको बताइन । उनले गरिब र जेहेनदारहरू छात्रवृत्तिबाट बढी लाभान्वित भएको बताइन् । बैठकले भक्तपुर नगरभित्र सञ्चालित विद्यालय तथा कलेजहरूमा गरिब, जेहेनदार तथा छात्रवृत्तिका लागि सिफारिस विद्यार्थीलाई अध्ययन अध्यापन गराउनेबारे निर्णय गर्यो ।

बैठकमा उपस्थित संस्थागत र सामुदायिक विद्यालयका प्रधानाध्यापकले छात्रवृत्ति छनोट परीक्षा स्तरीय ढंगले सञ्चालन गरिनुपर्ने, अध्ययनशील र जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विद्यालयमा ८० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई प्राथमिकतामा राख्नुपर्ने, छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीलाई संगठित गर्दै नगरपालिकाबाट मार्गनिर्देश गर्नुपर्ने, ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीलाई बौद्धिक र अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिनुपर्ने बताए । 

सुझावित समाचार