कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्रकान्त भण्डारीले विगतमा संस्थापनइतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्री सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन्।
उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरूले लिनुपर्ने बताए। नेता भण्डारीले उपसभापति र महामन्त्रीहरूका बीचमा बैठक राख्ने र एजेन्डा तय गरेर सँगै हिँड्न आग्रह गरे।
उनले भने, ‘हामीले आन्दोलन गर्न जान्यौँ। सत्ता चलाउन जानेनौँ। म आग्रह गर्न चाहन्छु– आदरणीय पार्टी सभापति शेरबहादुरजी हुनुहुन्छ। ८० वर्ष पुग्न थाल्नुभएको छ। जोस–जाँगर भएका उपसभापति र महामन्त्री हुनुहुन्छ । अब उहाँहरूले नेतृत्व लिनुपर्यो। भलै मैले चुनाव हारिसकेँ। हामी तपाईंहरूको पछाडि छौँ। तपाईंहरूको सहयोगी छौँ। तर, तपाईंहरू अबदेखि सँगै हिँड्नुस्। मिटिङ राख्नुस्। एजेन्डा तयार गर्नुस्। तब मात्रै कांग्रेस बन्छ। एक्लै कहीँ पुग्न सकिँदैन। बिपी कोइराला त एक्लै पुग्न सक्नुभएन जोसँग सबै कुरा थियो।’