कर्मचारीहरू हत्तपत्त काठमाडौंबाहिर जान किन चाहँदैनन् ?
जाँदै नजाने भन्ने होइन । बाहिरी जिल्लातिरै घर भएका कतिपय कर्मचारीले उतै बसेर घरव्यवहारसँगै जागिरे जीवन चलाइरहेका पनि छन् । कतिपय कर्मचारीचाहिँ वृत्ति विकासका अवसर हेरेर लोकसेवाको तयारीका लागि पनि काठमाडौं छाड्न चाहँदैनन् । कतिपयका पतिपत्नी दुवै जागिरमा हुँदा एउटा काठमाडौंमै हुने अवस्थामा अर्को बाहिर जान नचाहने अवस्था पनि छ । साथै, सन्तानको पठनपाठनलगायतले पनि उनीहरूलाई यतै रोकिरहेको हुन्छ । त्यस्तै, कतिपय कर्मचारीचाहिँ ‘आकर्षक’ भनिएका अड्डामा चहार्ने बानी परेका कारण पनि बाहिर जान चाहँदैनन् ।
कर्मचारीहरू काठमाडौंबाहिर नजाँदा केकस्ता समस्या आइपर्छन् ?
सबैभन्दा पहिले त त्यस्ता कर्मचारीले ‘फिल्ड’ बुझ्न सक्दैनन् । तिनले मोफसलको ‘सर्भिस डेलिभरी’ र देश पनि बुझेका हुँदैनन् । देश नबुझेका कर्मचारी नीति निर्माण तहमा पुग्न सक्छन् । त्यस्ताले बनाएको नीति देशका लागि उपयुक्त नहुन सक्छ । गणेश प्रवृत्तिले प्रश्रय पाउन सक्छ । अन्य साथीहरूको वृत्ति विकासमा अवरोध पुग्न सक्छ ।
सरुवा व्यवस्थापन कार्यदलको प्रतिवेदन कार्यान्वयन हुने सम्भावना कति छ ?
त्यति कठिन छैन । नीतिभित्रै बसेर सरुवा गरियो भने समस्या हुँदैन । इमानदारीपूर्वक कार्यान्वयनको प्रयास गरियो भने कठिन छैन । तर, तँचाहिँ जानैपर्छ, उसलाई चाहिँ यो वा त्यो अप्ठ्यारो छ भनेर कसैलाई च्याप्ने र कसैलाई न्याक्ने प्रयास गरियो भने प्रतिवेदन कार्यान्वयन हुन सक्दैन । केही कर्मचारीले आफ्नो सरुवा रोक्ने प्रयास पनि गर्नेछन्, उनीहरू सफल भए भने कोही पनि बाहिर जाँदैनन् ।