अर्थमन्त्रीकाे दाबी- नयाँ मौद्रिक नीतिले आर्थिक गतिविधि बढ्छ

सोमबार, ८ साउन, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ मौद्रिक नीतिले आर्थिक गतिविधि बढ्ने दाबी गरेका छन्।

मौद्रिक नीतिले बैंकहरूको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज हुने तथा यसबाट रोजगारी सिर्जना हुने र आर्थिक शिथिलता कम गर्ने उनले बताए।

प्रेस युनियनले सोमबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जग्गा कारोबार पनि सहज हुने बताए। मुलुक आर्थिक वृद्धिको बाटोमा उन्मुख भएको विश्लेषण गरेका अर्थमन्त्री महतले राजस्वका आधार वृद्धि गर्ने र परिणाम आउने गरी सरकारले काम गर्ने बताए।

करका दायरा बढ्दा राजस्व वृद्धि हुने बताएका उनले विकास निर्माणका काम समयमै ठेक्का लगाएर खर्च गर्ने क्षमता पनि वृद्धि गर्ने गरी अगाडि बढेको बताए।

भन्सार अनियमितता रोक्न आफूले तस्करीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेकाले सय केजी सुन बरामद गर्न मद्दत मिलेको उनको तर्क छ। अर्थमन्त्री महतले यस प्रकरणमा जरैसम्म पुगेर अनुसन्धान हुने भन्दै सुशासन कायम गर्ने र गैरकानुनी काम रोक्न सरकार अग्रसर रहेको बताए।

कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री डा. महतले कांग्रेसको केन्द्रीय समितिको बैठकबारे पनि चर्चा गरे। उनले पार्टीमा अनुशासन कायम राख्ने, गतिशील बनाउनेबारे बृहत् छलफल भएको बताए।

बैठकबाट समसामयिक विषयमा पार्टीको दृष्टिकोण आउने भन्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजाने गरी पार्टीले भूमिका खेल्ने धारणासमेत राखे। 

त्यस्तै, केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारणका सम्बन्धमा उनले आगामी बैठकहरू आवश्यकताका आधारमा प्रत्यक्ष प्रसारण गर्ने वा नगर्नेबारे निर्णय हुने बताए।

बाहिर बैठकमा के–के न भयो भन्ने हल्ला हुने भएकाले जनतालाई यथार्थ जानकारी दिन यसपटक बैठकको प्रत्यक्ष प्रसारण भएको उनको भनाइ छ। 
 

सुझावित समाचार