आइतबार दिउँसो १ बजेर १७ मिनेट जाँदा दुई हजार एक सय ८२ दशमलव ९७ विन्दुको आसपास थियो । त्यही वेला राष्ट्र बैंकले चालू आर्थिक वर्ष ०८०/८१ का लागि मौद्रिक नीति जारी गरेपछि लगानीकर्ता उत्साहित भए र सेयर बजार सूचकांकमा वृद्धि भई दुई हजार दुई सय २८ विन्दुसम्म पुग्यो ।
मौद्रिक नीतिको सुरुवाती अंश थाहा पाएर उत्साहित भएका लगानीकर्ता सूक्ष्म विश्लेषणपछि भने निराश भएका छन् । यद्यपि, आइतबार नेप्से परिसूचकांक समग्रमा ६३ दशमलव २४ अंकले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । आइतबार एक करोड २० लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।
तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । किसान लघुवित्त वित्तीय संस्था, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त, ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, हिमालयन डिस्टिलरी रहेका छन् । यी कम्पनीको ११ करोड रुपैयाँदेखि १४ करोड ८१ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।
माग सम्बोधन नहुँदा लगानीकर्ता निराश
मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन गर्न नसकेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बताए । सुरुवातमा मौद्रिक नीतिले झुक्याउँदा सेयर बजारले स्वागत गरेको भए पनि दीर्घकालीन रूपमा लाभदायक नदेखिएको उनको भनाइ छ । उनले भने, ‘हामीले उठाएको १० प्रतिशत माग मात्र सम्बोधन हुन सक्यो ।’
लगानीकर्ताले अघिल्लो वर्षको मौद्रिक नीतिमा समावेश भएको एक बैंकबाट चार करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी सेयर धितो कर्जा लिन नपाउने ‘क्याप’लाई हटाउन माग गरेका थिए । तर, त्यसमा मौद्रिक नीति मौन रहेको छ । लगानीकर्ता तथा नयाँ ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले सेयर धितो कर्जामा १२ करोडको क्याप हटाउन गरेको प्रस्ताव राष्ट्र बैंकले नसुनेको गुनासो गरे ।
उनले भने, ‘राष्ट्र बैंकले पुँजी बजारलाई गहिरो गरी बुझेको देखिँदैन, बजारले स्वागत गरे पनि दीर्घकालीन सम्बोधन हुन सकेन ।’ त्यस्तै नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरेको बताइन् । उनले भनिन्, ‘सेयर धितो कर्जा जोखिम भार घटाउनुपर्छ भन्ने हाम्रो माग थियो, तर ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरिएको हुँदा हाम्रो माग सम्बोधन भएन ।’ लगानीकर्ताले १५० प्रतिशत जोखिम भारलाई १०० प्रतिशतमा झार्नुपर्ने माग राख्दै आएका थिए । तर, मौद्रिक नीतिले ५० लाखसम्मको सेयर धितोमा मात्र १०० प्रतिशत जोखिम भार कायम गर्ने निर्णय गरेको छ । लगानीकर्ताले भने यसमा कुनै क्याप राख्न नहुने माग गर्दैै आएका छन् ।