खाद्यान्न सम्झौताबाट रुस बाहिरिँदा मूल्यमा कस्तो असर पर्ला ?

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

विश्लेषकका अनुसार कृष्णसागर खाद्यान्न सम्झौता भंग भएपछि एसियामा खाद्यान्नको मूल्य बढ्ने सम्भावना भए पनि यसको प्रभाव भने सीमित हुनेछ

कृष्णसागर हुँदै अन्तर्राष्ट्रिय बजार आपूर्ति हुने युक्रेनी खाद्यान्नसम्बन्धी सम्झौताबाट रुस बाहिरिएपछि एसियामा खाद्यान्नको मूल्य उच्च हुने अपेक्षा गरिएको छ । तर, यसको असर पहिलेजस्तै चर्को नहुने विश्लेषकहरूको ठम्याइ छ । विशेषतः पछिल्लो समय एसियाली मुलुकले युक्रेनी आयात घटाएर अन्य देशबाट आपूर्ति बढाएका छन् । यसले पनि अहिलेका लागि यसको असर कम देखिनेछ । कृष्णसागर खाद्यान्न सम्झौताअन्तर्गत एसियाले युक्रेनी अन्न र अन्य खाद्यान्नको ढुवानीको ४६ प्रतिशत हिस्सा प्राप्त गर्दै आएको थियो । त्यसपछि पश्चिम युरोपले ४० प्रतिशत र अफ्रिकाले १२ प्रतिशत खाद्यान्न हासिल गर्थे । 

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार युक्रेनी खाद्यान्नको सबैभन्दा ठूलो एकल खरिदकर्ता चीन हो । चीन एक्लैले ७७ लाख टन अर्थात् वा कुल युक्रेनी निर्यातको लगभग एकचौथाइ हिस्सा आयात गर्ने गरेको छ । चीनले युक्रेनबाट आयात गर्ने खाद्यान्नमा ५६ लाख टन मकै, १८ लाख टन सूर्यमुखीको दाना, अलग रूपमा तीन लाख ७० हजार टन सूर्यमुखी तेल र तीन लाख ४० हजार टन जौ समावेश थिए । ‘चीनको ३० प्रतिशत मकैको आयात युक्रेनबाट मात्र हुन्छ, जसलाई मानव खाना, तेल र जनावरको खाद्यान्नको रूपमा प्रयोग गरिन्छ,’ किभस्थित ग्लोबल स्टडिज स्ट्रेटेजी एक्सएक्सआईका एसिया–प्रशान्त ब्युरो प्रमुख ओक्साना लेस्नियकले भनिन् ।

किभ स्कुल अफ इकोनोमिक्सअन्तर्गतको ‘सेन्टर फर फुड एन्ड ल्यान्ड युज रिसर्च’का अनुसन्धानकर्ता पाभ्लो मार्तिसेभका अनुसार खाद्यान्न सम्झौता अन्त्यका असर सामना गर्न चीनलगायत एसियाली मुलुक अफ्रिकाभन्दा बढी सक्षम छन् । ‘खाद्यान्न सम्झौता अन्त्य भएपछि अन्न, तेलबिउ र वनस्पति तेलको मूल्य बढ्ने भएकाले एसियाको खाद्य सुरक्षामा असर त पर्नेछ । यसले सो क्षेत्रको खाद्यान्न भाउ बढ्नेछ,’ मार्तिसेभले भने, ‘तथापि, यसकै कारणले त्यहाँ खाद्यान्नको भौतिक अभाव नै छैन आउनेछैन । 

एसियाली देशहरू अफ्रिकी मुलुकको विपरीत आर्थिक रूपमा सक्षम छन् । त्यसैले उनीहरूसँग पर्याप्त खाद्यान्न आपूर्ति हुनेछ ।’ चीनले खाद्यान्न आयातलाई विविधीकरण गर्ने उद्देश्यमा काम गरिरहेको छ । यसै उद्देश्यबाट प्रेरित भएर उसले सन् २०२२ मा ब्राजिलसँग मकै आयात सम्झौतामा हस्ताक्षर गरेको थियो । खाद्यान्न आयातमा विविधताको नीतिले चीनको खाद्य सुरक्षा सुनिश्चित गर्नेछ । ब्राजिलले अहिले हासिल गरिरहेको असाधारण उब्जनी वृद्धिले पनि चीनलाई फाइदा पुर्याउनेछ । 

तथापि कृष्णसागर हुँदै हुने खाद्यान्न आपूर्तिसम्बन्धी सम्झौताको पतन र जलवायु परिवर्तनका कारण उत्पन्न खराब मौसमजस्ता कारणले अर्को वर्षसम्ममा विश्वभर खाद्यान्नको मूल्य बढ्नेछ । ‘अहिले नै यो प्रभाव उल्लेखनीय हुनेछैन किनभने उत्तरी गोलार्धका देशहरूले बाली काटिरहेका छन् । त्यसैले तिनलाई चाहिनेजति पर्याप्त अन्न हुनेछ । यो वर्षभर नै विश्वमा कीर्तिमानीस्तरमा अन्न उत्पादन हुने अपेक्षा गरिएको छ । ठूलो परिमाणको उब्जनीले अहिलेको लागि खाद्यान्न संकटको असर निस्तेज बन्नेछ,’ मार्तिसेभले भने । 

कृष्णसागर अन्न सम्झौताको मुख्य लाभार्थी चीन रुसको सहयोगी मुलुक हो । तर, चीनले रुसलाई सम्झौताबाट बाहिर ननिस्कन मनाउन सकेको छैन । ‘यस कुरामा रुसले चिनियाँ चासोलाई बेवास्ता गरेको छ,’ युक्रेनको राष्ट्रिय भ्रष्टाचारविरोधी ब्युरोका निरीक्षण समितिका प्रमुख मार्क साभचुकले भने । ‘चीनलाई यस खाद्यान्न सम्झौतामा अफ्रिकी देशका लागि खाद्य आपूर्ति ग्यारेन्टी गर्न सक्ने ठूलो, प्रभावशाली देशको रूपमा चित्रण गरिनुपर्थ्यो,’ जकार्तास्थित सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस) का कार्यकारी निर्देशक योसे रिजाल डेमुरीले भने । डेमेुरीका अनुसार दक्षिणपूर्वी एसियामा गहुँमा आधारित चाउचाउले खाद्यान्नको १०–१५ प्रतिशत हिस्सा ओगट्ने भए पनि रुसले युक्रेनमा आक्रमण गरेपछि त्यहाँबाट हुने आयात घटाइएको छ । 

युक्रेनी खाद्यान्न आयात घटाएकाले कृष्णसागर सम्झौता खारेजीले दक्षिणपूर्वी एसियामा उल्लेखनीय असर नगर्ने डेमुरीले बताए । ‘तथापि प्रत्यक्षभन्दा अप्रत्यक्ष प्रभावले बढी महŒव राख्न सक्छ । विशेषगरी ‘एल निनो’ मौसमी चक्रको प्रभाव बढ्न थालेकाले दक्षिणपूर्वी एसियामा खाद्यान्न उत्पादन प्रभावित हुनेछ । र, यो पुनः कृष्णसागर खाद्यान्न सम्झौताले कसरी विश्व खाद्य आपूर्ति शृंखलालाई असर पुर्याउँछ भन्ने कुरामा निर्भर हुन्छ,’ डेमुरीले भने । उनका अनुसार प्रतिकूल मौसम परिस्थितिले अन्य खाद्यवस्तुको आपूर्ति शृंखलालाई असर गरेको अवस्थामा दक्षिणपूर्व एसियामा खाद्यान्नको मूल्य बढ्न सक्छ । 

किभले सम्झौताको पतनलाई तुलनात्मक रूपमा गम्भीर रूपमा चित्रण गरेको छ । युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले सम्झौताबाट रुसको फिर्तीलाई मुख्यतया एसिया र अफ्रिकासहित विश्वभरका लाखौँ मानिसको जीवनलाई खतरामा पार्ने कदमका रूपमा अथ्र्याए । ‘खाद्यान्न सम्झौताको कारण विश्वमा गहुँ, मकै र अन्य सम्बन्धित वस्तुको मूल्य २० प्रतिशतले गिरावट आएको थियो । अब त्यो लाभ गुम्नेछ,’ विदेशमन्त्री कुलेबाले भने । रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भएपछि विश्वव्यापी खाद्यान्न संकट टार्न गत वर्ष जुलाईमा संयुक्त राष्ट्रसंघ र टर्कीले अग्रसरता लिएर यो सम्झौता गरेका थिए । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले कृष्णसागर आपूर्ति सम्झौताले विश्वभर मकै, गहुँ, हुडेपिया, केन्गलीलगायत सात लाख २५ हजार २०० टनभन्दा बढी अन्नको ढुवानीलाई सहजीकरण गरेको र अफगानिस्तान, इथियोपिया, सुडान र यमनमा भोकमरी घटाउन सघाएको दाबी गरेको छ । 

– अलजजिराका लागि एमी च्युको आलेख

See More On

सुझावित समाचार