नेपाली जुत्ता उत्पादक कम्पनीहरूको साझा बिक्री कक्ष पोखरामा सञ्चालनमा आएको छ । ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ नाम दिएर सञ्चालनमा आएको बिक्री कक्षमा नेपालका १० कम्पनीका २० ब्रान्ड एकै ठाउँमा उपलब्ध छन् ।
बिक्री कक्षको गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेका छन् । उपभोक्तालाई उद्योगबाट उत्पादित जुत्ता सीधै उपलब्ध गराउन ‘मल्टिब्रान्ड सोरुम’ विस्तार गरेको नेपाल फुटवेयर एसोसिएसनका उपाध्यक्ष रुद्रनाथ न्यौपानेले जानकारी दिए । बिक्री कक्षमा शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका उत्पादनहरू ग्राहकले एकै छानामुनिबाट खरिद गर्न सक्ने भनाइ उनको छ ।
अध्ययनअनुसार हाल नेपालमा वार्षिक आठदेखि १० करोड जोडीभन्दा बढी जुत्ता–चप्पल खपत हुन्छन् । त्यसमध्ये ६५ प्रतिशतभन्दा बढी बजार स्वदेशी उत्पादनकै नै खपत भइरहेको बताउँदै न्यौपानेले नेपालमा जडित औजार, मेसिन र पूर्वाधारका हिसाबले लगभग १२–१३ करोड जोडीभन्दा बढी जुत्ता–चप्पल उत्पादन गर्न सक्ने क्षमता रहेको छ ।
साउनभरि १५ प्रतिशतसम्म छुट
एसोसिएसनका उपाध्यक्ष सुरज बन्जाडेले संयुक्त सोरुममा एक हजारभन्दा बढी जुत्ताका मोडल उपलब्ध रहेको बताए । साउन महिनाभरि हरेक कम्पनीका उत्पादनमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।
२०२० को दशकमा बालाजु जुत्ता कारखानाबाट सुरु भएको नेपालको जुत्ता उद्योगको औद्योगिकीकरण केही समयको इतिहास बोकेर सरकारी लगानीको बाँसबारी छालाजुत्ता बन्द भएपछि निजी क्षेत्रको काँधमा आएको जुत्ता–चप्पल उत्पादन उद्योग क्रमिक रूपमा सुधार हुँदै आजको नेपालको उत्पादन र उद्योगको क्षेत्रमा आशालाग्दो र भरोसायोग्य क्षेत्र बनेको उनको भनाइ छ ।