पहिरोले एक सातादेखि दुहुँ–खलंगा सडक अवरुद्ध

आइतबार, ७ साउन, २०८०
डिजिटल संस्करण

दार्चुला–तिंकर सडकखण्डको राताकाठादेखि तिमुरपाटाबीच क्षेत्रमा पहिरो खसेपछि एक सातादेखि दुहुँ–व्याँस हुँदै सदरमुकाम खलंगा जोड्ने सडक अवरुद्ध छ । सदरमुकाम खलंगासँग जोड्ने दुहुँ–व्याँसको मुख्य सडक अवरुद्ध हुँदा स्थानीयलाई खलंगासम्मै पुग्न सास्ती भएको छ ।

अहिले राताकाठाभिरसम्मै मात्र सडक सुचारु छ । त्योभन्दा माथि स्थानीयले आवतजावतमा निकै समस्या खेप्नुपरेको छ । दैनिक उपभोग्य सामान लिन पनि समस्या भएको दुहुँ गाउँपालिका–३ का धनुवा लुहारले बताए । ‘हामीजस्ता बुढापाकालाई खलंगा आउजाउमा समस्या भएको छ,’ उनले भने । बजारसम्म जान जोखिमपूर्ण बाटोमा हिँड्नुपरेको छ । 

‘बर्खाको वेला यो क्षेत्रमा हिँडडुल गर्न पनि जोखिम छ । कुन वेला माथिबाट पहिरो खस्ने थाहा छैन,’ महाकाली नगरपालिका– १ का अमरबहादुर बमले भने, ‘दिनहुँ जोखिम मोलेर यही बाटो हिँड्नुपरेको छ ।’ 

सडकमाथिबाट ढुंगा खसिरहेकै अवस्थामा जोखिम मोलेरै स्थानीयवासी दैनिक सदरमुकाम आउजाउ गरिरहेका छन् । निजाङगाड खोलामा दुई वर्षअघि बाढीले मोटरेबल पुल बगाएपछि बर्खायाममा सडक अवरुद्ध हुने अवस्था आएको छ । पुल नहुँदा अहिले राताकाठाभिर पार गर्न पनि यातायात व्यवसायीले खोलामै गाडी चलाउने गरेका छन् । 

अहिले दुहुँ गाउँपालिकाले सुपथ मूल्यको खाद्यान्न पसल सञ्चालन गरेको हुँदा थोरै राहत पुगेको छ, दुहुँ–३ का कर्णबहादुर बम भन्छन्, ‘नत्र स्थानीयले बोकेरै खाद्यान्न बोक्नुपर्ने अवस्था आउने थियो ।’ झन्डै एक सय मिटरभन्दा बढी क्षेत्रमा सडकमाथिबाट पहिरो खसेको छ । महाकाली करिडोरअन्तर्गत रहेको दार्चुला–तिंकर सडकको तिमुरपाटाभन्दा माथिल्लो क्षेत्रमा सडक सुधारको काम भए पनि पहिरो गएको क्षेत्रमा सडक सुचारु हुन सकेको छैन । सदरमुकामदेखि दुहुँको गरमोरा, हिकिला, पिपलचौरी र पन्तोली खोला क्षेत्रमा पनि सडक अवरुद्ध हुँदै आएको छ । 

See More On

सुझावित समाचार