एनआइसी एसिया बैंकले ‘मुद्दती खातामा आधारित अनलाइन कर्जा’ नामको योजना ल्याएको छ । बैंकले मुद्दती निक्षेप खाता भएका ग्राहकले बैंकको मोबाइल बैंकिङ (मोबैंक) एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम दुई लाख रुपैयाँसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने सुविधा ल्याएको हो ।
‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङको प्रर्वद्धन गरिरहेको उल्लेख गर्दै बैंकले ल्याएको यस कर्जाको लाभ लिन योग्य ग्राहक सबैले सहजै कर्जा पाउने जनाएको छ । दुई लाख रुपैयाँभन्दा बढी कर्जाको हकमा भने ग्राहकले डिजिटल फर्म भरेर बैंकको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र पाउने उल्लेख छ । यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको जनाइएको छ । कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्ममा साँवा भुक्तानी गर्नुपर्ने बैंकले
जनाएको छ ।
न्यूनतम पाँच हजार रुपैयाँ कर्जा सीमा उपलब्ध हुने यस योजनामा ग्राहकले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, सर्तका बारेमा कर्जा लिने प्रक्रियाको क्रममा जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ । बैंकले हाल देशभरमा तीन सय ६० शाखा, पाँच सय १९ एटिएम, एक सय ११ विस्तारित काउन्टर एवं ६५ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।