सुनसरीमा डेंगुका बिरामी बढ्न थालेका छन् । असारदेखि प्रकोपको रूपमा देखिएको डेंगु संक्रमितहरूको सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फोहोर, जमेको पानी, खाल्डालगायतका स्थानमा बस्ने लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगुबाट सुनसरीमा एकजनाले ज्यान गुमाएका छन् । गत २३ जेठमा धरानकी ३० वर्षीया एक महिलाको ज्यान गएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा.चूरामणि पोखरेलले जानकारी दिए ।
पछिल्लो तथ्यांकअनुसार सुनसरीमा डेंगु संक्रमितको संख्या देशकै सबैभन्दा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुनसरीमा एक हजार पाँच सय ७१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
सुनसरीका अन्य पालिकामा समेत डेंगुका बिरामी देखिन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले धरानमा प्रकोपको रूपमा देखिएको डेंगु अन्य पालिकामा समेत देखिन थालेको बताए । हाल बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङ, झापा, ताप्लेजुङ, धनकुटालगायतका छिमेकी जिल्ला र भारतबाट आएका बिरामीको समेत उपचार भइरहेको छ । ‘केही वर्षअघिसम्म डेंगु प्रकोप तराईका क्षेत्रमा बढी हुन्थ्यो, तर पछिल्लो समय ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाबाट समेत बिरामी आइरहनुभएको छ,’ पोखरेलले भने, ‘फाट्टफुट्ट जेठबाट र असारको दोस्रो साताबाट संक्रमण ह्वात्तै बढेको हो ।’ संक्रमितको उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टै टेन्टसहितको क्लिनिकको व्यवस्था गरेको छ । संक्रमणदर बढेपछि प्रकोप नियन्त्रण तथा सर्वसाधारणले सहजरूपमा उपचार पाउन सकून् भन्ने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २९ असारदेखि प्रतिष्ठानको जिओपिडी भवनअगाडि छुटै डेंगु क्लिनिक सञ्चालनमा ल्याएको हो ।
‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउँदै धरान उपमहानगर
डेंगु रोकथाम र नियन्त्रण गर्न धरान उपमहानगरपालिकाले अस्थायी क्लिनिकका लागि बिपी स्वास्थ्य प्रतिष्ठानसँग सहकार्य गरेको छ । डेंगु रोग नियन्त्रणका लागि धरान उपमहानगरले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरुकै दिनबाट सञ्चालन गरिरहेको छ । सचेतनाको कार्यक्रम पनि अघि बढाइएको धरान स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘प्रकोप बढ्नेबित्तिकै हामीले सर्च एन्ड डिस्ट्रोय अभियान सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘यसबाहेक सचेतनाका कार्यक्रम, प्रदेश तथा केन्द्रसँग विभिन्न उपकरण तथा किटका लागि पहललगायतक काम गरिरहेका छौँ ।’ डेंगु नियन्त्रणका लागि उपमहानगर प्रमुख हर्कराज राई आफैँ पनि सक्रिय भएर लागेका छन् । नगरको स्वास्थ्य शाखा, जनप्रतिनिधि, हरेक वार्डका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला, टोलविकास संस्थाका पदाधिकारीलगायतको समूहले नै सर्च एन्ड डिस्ट्रोय अभियान चलाइरहेको मेहताले बताए ।