कांग्रेसले आगामी एक वर्षमा सात लाख सदस्य थप्ने महत्वाकांक्षी योजना अघि सारेको छ । झन्डै ११ महिनापछि मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्तावमा सदस्यता बढाउनेदेखि पार्टीका केन्द्रीय विभाग विस्तारसम्मका योजना छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र आफूले केही केन्द्रीय सदस्यको सहयोगमा कार्ययोजना तयार गरेको उनको भनाइ छ ।
‘२० साउनदेखि ०८१ असार मसान्तसम्म ‘घरघर जाऊँ पार्टी सदस्य बनाऔँ’ भन्ने राष्ट्रिय अभियान सुरु हुनेछ । अभियानअन्तर्गत कम्तीमा पाँच लाखदेखि सात लाख नयाँ पार्टी सदस्य बनाउने उद्देश्यले यो अभियान सुरु गर्ने प्रस्ताव छ,’ महामन्त्री थापाले बैठकमा भने ।
थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनामा केन्द्रीय समिति बैठक र कार्यसम्पादन समिति बैठकलाई विधानअनुसार नियमित बनाउने, केन्द्रीय विभाग विस्तार गर्ने, अवधि सकिएका भ्रातृ संस्थाको १५ भदौभित्र तदर्थ समिति गठन गर्ने र ६ महिनाभित्र अधिवेशन गर्ने, अनलाइन सदस्यता वितरणको प्रबन्ध गर्ने, नीति महाधिवेशनको मिति तय गर्ने, पार्टीका दस्ताबेज डिजिटलाइज गर्ने र डिजिटल अभिलेख राख्नेलगायतका विषय समेटिएका छन् ।
हाल कांग्रेसका ४८ विभाग छन् । सबै क्षेत्र समेटेर पार्टीमा संगठित गर्ने गरी २२ विभाग थप्ने प्रस्ताव बैठकमा पेस भएको छ । १५ भदौभित्र सबै विभाग र समिति गठन गरे पूर्णता दिइसक्ने महामन्त्रीको कार्ययोजनामा उल्लेख छ । सबै विभागहरूले भदौभित्र वार्षिक कार्यतालिका बनाएर कार्यसमितिमा पेस गर्ने र प्रत्येक ६ महिनामा प्रगति विवरण पेस गर्नुपर्ने व्यवस्था गरिनेछ । त्यस्तै, शुभेच्छुक संस्थाले तीन महिनाभित्र महाधिवेशन सक्ने तथा जनसम्पर्क समितिको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । तीनवटै तहमा सहजीकरण तथा अनुगमन समिति गठन गर्ने र घोषणापत्रअनुसार काम गर्ने तथा केन्द्रीय तहबाट त्यसको अनुगमन गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।
केन्द्रीय सदस्यलाई ११ महिना पार्टीको काममा र एक महिना छुट्टी दिने कार्यतालिका छ । महामन्त्रीद्वयले असार महिना खेती र प्राकृतिक विपत्को सामनाका लागि तयारी रहने गरी तालिका बनाएका छन् । ‘साउनबाट कार्यतालिका सुरु हुन्छ । जसमा केन्द्रीय कार्यसमिति बैठक विधानअनुसार कम्तीमा दुई महिनामा एकपटक गर्ने कार्यतालिका रहनेछ । आवश्यकताअनुसार कार्यसम्पादन बैठक बस्नेछ । अबको असोज, मंसिर, माघ, चैत र जेठको पहिलो हप्तामा बैठक बस्ने तोकेका छौँ । कम्तीमा दुई बैठक उपत्यकाबाहिर बस्नेछ,’ प्रस्तावमा भनिएको छ ।
प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तर्गतका कार्यक्रम बनाई कार्यतालिकासहितको वार्षिक योजना भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेस गर्ने र वर्षभरिको गतिविधिको प्रगति विवरण प्रत्येक ६ महिनामा केन्द्रीय समितिमा बुझाउनुपर्ने महामन्त्री थापाको प्रस्ताव छ । बैठकअघि कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । कार्यसमिति बैठकअघि अभियानले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन बुझाएको हो । नेता गुरुराज घिमिरेका अनुसार जेठभर देशव्यापी रूपमा पार्टी रूपान्तरण अभियानअन्तर्गत प्राप्त सुझावलाई केन्द्रीय समिति बैठकमा छलफलको विषय बनोस् भन्ने उद्देश्यले सुझाव प्रस्तुत गरिएको बताए ।
कांग्रेसले झन्डै एक वर्षको अन्तरमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रत्यक्ष प्रसारण गरेको छ । कांग्रेस इतिहासमा केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण भएको पहिलोपटक हो । बैठकमा महामन्त्री गगन थापाले सांगठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा पेस गरेका थिए । उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले निर्वाचनपछि विकसित घटनाक्रम र सरकारबारे, प्रमुख सचेतक रमेश लेखकले संसद्मा पार्टीको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठ र केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगानाको प्रतिवेदन पेस भएको छ । श्रेष्ठले पेस गरेको प्रतिवेदनमा प्रत्यक्षतर्फ कतिपयलाई टिकट दिन नसक्दा मत घटेको उल्लेख छ । त्यस्तै, ढुंगानाले प्रतिवेदन पेस गर्दै तीनै तहको निर्वाचनअनुसार ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताए । निर्वाचन समितिले पूर्णता नपाउँदा उजुरी छानबिन हुन नसकेको उनले बताए । केही कारबाही र फुकुवा भएको पनि उनको भनाइ थियो । ‘अहिलेसम्म ८७ जनालाई कारबाही गरिएको छ र ३४ जनाले गल्ती भएको भन्दै पार्टी काममा सक्रिय हुने भन्दै निवेदन दिएकाले कारबाही फुकुवा गरिएको छ । बैठकबाट यो विषय अनुमोदनका लागि प्रस्तुत गरिएको छ ।’
प्रतिपक्ष आक्रामक, तर अधैर्य : लेखक

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रतिपक्ष दल सदनमा आक्रामक, तर अधैर्य रहेको विश्लेषण गरेका छन् । ‘राजनीतिक परिस्थिति परिवर्तन भएर हामी एउटा गठबन्धनबाट अर्को गठबन्धनमा गयौँ । त्यसकारण पनि प्रमुख प्रतिपक्ष आक्रामक छ । परिपक्व त छ, तर कहिलेकाहीँ अधैर्य देखिन्छ,’ उनले भने, ‘अरू प्रतिपक्ष पनि आक्रामक छन्, उनीहरू पनि अधैर्य छन् । नयाँ–नयाँ संसदीय अभ्यासमा रहेका यदाकदा अपरिपक्व देखिन्छन् ।’
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनु रणनीतिक’
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएर सत्तामा ‘कमब्याक’ हुने राजनीतिक आधार बनेको निष्कर्ष निकालेको छ । १० पुसमा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकाएक सत्ता–राजनीतिबाट बाहिरिएको कांग्रेसले रणनीतिअनुसार नै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्विकारेको छ । बैठकमा उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसले राष्ट्रपति पाउने पूर्वसहमतिअनुसार सरकारलाई विश्वासको मत दिएको, त्यससँगै आफूहरूबीचको गठबन्धन पुनः स्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको ब्रिफिङ गरेका थिए ।
‘पुस २६ मा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण यसै बनेको होइन । विश्वासको मत दिएपछि उपयुक्त वातावरण बनाएर राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने गरी एउटा तहमा प्रधानमन्त्री प्रचण्डले प्रतिबद्धता व्यक्त गर्नुभएको थियो,’ बैठकमा खड्काले भने, ‘सभापतिको नेतृत्वमा विभिन्न चरणमा भएका वार्तामा यस्तो भएको थियो । त्यही विश्वासका आधारमा विश्वासको मत दियौँ । त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनः स्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरणस्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा निर्वाचित गर्यौँ ।’ नयाँ गठबन्धनसँगै कांग्रेस केन्द्रदेखि प्रदेशसम्म सरकारमा फर्किएको खड्काको भनाइ थियो ।