पाकिस्तानी इनिङमा साउदको सान, श्रीलंकाविरुद्ध पहिलो इनिङमा अविजित दोहोरो शतक

मंगलबार, २ साउन, २०८०
डिजिटल संस्करण
पाकिस्तानी इनिङमा साउदको सान, श्रीलंकाविरुद्ध पहिलो इनिङमा अविजित दोहोरो शतक

तस्बिर साैजन्य : espncricinfo.com

साउद सकिलको दोहोरो शतक र आगा सलमानको महत्वपूर्ण ८३ रनको मद्यतमा पाकिस्तान श्रीलंकासँगको पहिलो टेस्टमा सुदृढ अवस्थामा देखिएको छ। 

पहिलो इनिङमा श्रीलंकाले बनाएको तीन सय १२ रन पछ्याएको पाकिस्तानले जवाफी ब्याटिङ गर्दैै पहिलो इनिङमा चार सय ६१ रन बनायो। तेस्रो दिनको खेल सकिँदा श्रीलंकाले दोस्रो इनिङ सुरु गरिसकेको छ। उसले कुनै विकेट नगुमाई १४ रन बनाएको छ। 

एक समय एक सय एक रनमा पाँच विकेट गुमाइसकेको पाकिस्तानलाई साउद र आगाले नै उकासेका हुन्। एक सय एक रनमा पहिलो पाँच विकेट गुमाएको पाकिस्तानले त्यसपछिको पाँच विकेट गुमाउँदा भने तीन सय ६० रन बनायो। जसमा दुई सय आठ रन साउदको नाममा रह्यो। 

करिअरको छैटौँ टेस्ट म्याच खेलिरहेका उनले पहिलोपटक दोहोरो शतक प्रहार गर्दै दुई सय ८ रन बनाए। धैर्यपूर्वक तीन सय ६१ बलको सामना गरेका उनले १९ चौका प्रहार गरे र अविजित रहे। यसअघि उनको सर्वश्रेष्ठ स्कोर एक सय २५ थियो। यी २७ वर्षीय खेलाडीले आजको ब्याटिङपछि पाकिस्तानको मध्यक्रममा आफूलाई निकै बलियो दाबेदारका रूपमा प्रस्तुत गरेका छन्।  

साउदसँग दुई सय ७७ रनको साझेदारी गरेपछि रमेश मेन्डिसको बलमा आगा समरविक्रमलाई विकेटको पछाडि क्याच दिन पुगे। आगा आउट भएपछि साउदले नुमान अलीसँग ५२ रनको साझेदारी गरे। त्यसपछि आक्रामक रूपमा खेलेका साउदले नसिम शाहसँग ९४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे। उनी अन्तिमसँग अविजित रहे। 

सुझावित समाचार