कोरियामा भीषण बाढी, ४० को मृत्यु

सोमबार, १ साउन, २०८०
डिजिटल संस्करण
कोरियामा भीषण बाढी, ४० को मृत्यु

तस्बिर : बिबिसी ।

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण ४० जनाको मृत्यु भएको छ भने अन्य १७ जना बेपत्ता भएका छन् । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा १९ र मध्यचुङचेङ प्रान्तमा १६ जनाको मृत्यु भएको हो । 

पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भू–भाग डुबानमा परेका छन् । आपत्कालीन सेवाका अधिकारीले देशका अन्य भागमा अन्य पाँच जनाले ज्यान गुमाएका बताएका छन् । गत साता पाँच सय मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका प्रदेशमा भारी वर्षाको चेतावनी जारी गरिएको थियो ।

उत्तरी ग्योङसाङ प्रान्तमा १७ जना बेपत्ता छन् । बाढीका कारण घर भत्किँदा र पहिरोमा परेर मुलुकभर ज्यान गुमाउनेको संख्या बढेको छ । मध्य सहर ओसोङमा बाढीले बगाएको भूमिगत सुरुङमा फसेका सवारी साधनबाट गत राति सातवटा शव निकालिएको थियो । 

अविरल वर्षाबाट प्रभावित १३ वटा सहरका १० हजार पाँच सय ७० जनालाई विस्थापित भएका छन् । सार्वजनिक सुविधाहरूको क्षतिको संख्या ६ सय २८ पुगेको छ भने निजी सम्पत्तिको पनि व्यापक नोक्सानी भएको छ । तीन सय १७ वटा निजी सम्पत्तिमा बाढीले क्षति भएको, एक सय ४६ वटा सडक भत्किएका तथा एक सय ३९ घर बगेका योनहाप समाचार समितिले जनाएको छ । (सिन्ह्वाको सहयोगमा)

सुझावित समाचार