केही दिनयता उपत्यकाका प्रमुख चोकहरूमा ट्राफिक प्रहरीसँगै प्रहरीको सामुदायिक शाखामा कार्यरत प्रहरीहरूसमेत सर्वसाधारणलाई बाटो काट्न सघाइरहेका देखिन्छन् । नागरिकसँग प्रहरीको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरु गरेको ‘सुरक्षित उपत्यकाः हाम्रो प्रतिबद्धता’ अभियानअन्तर्गत यसरी चोकमा थप प्रहरी खटिन थालेका हुन् । खासगरी ‘पिक आवर’मा वृद्ध तथा बालबालिकालाई सघाउन सामुदायिक शाखाका प्रहरीले सघाउने गरेका छन् ।
प्रहरी सेवालाई अझै नागरिकमैत्री बनाउन अभियानअन्तर्गत प्रहरीले सक्रियता बढाएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । ‘पिक आवरमा वृद्ध र बालबालिकालाई सडक पार गराउन सामुदायिक शाखाका प्रहरीलाई खटाउन थालिएको हो,’ एसएसपी मैनाली भन्छन्, ‘प्रहरी सेवालाई थप नागरिकमैत्री बनाउने अभियानमा हामी छौँ ।’
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत साता सार्वजनिक गरेको कार्ययोजनाअन्तर्गत काठमाडौं उपत्यकामा ‘सुरक्षित उपत्यका : हाम्रो प्रतिबद्धता’ सुरु भएको हो । जसअनुसार उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीलाई थप तालिम दिएर ‘स्मार्ट पुलिसिङ’को अवधारणालाई कार्यान्वायनमा लगिएको हो । जसअन्तर्गत प्रहरीलाई शारीरिक तथा मानसिक रूपमै स्मार्ट बनाउने, अनुसन्धानलाई थप प्रमाणमुखी बनाउन मुख्य नाका र चोकहरूमा सिसी क्यामरा थप्ने, कन्ट्रोल रुम भेहिकल (सिआरभी)लाई अझै प्रभावकारी बनाउनेलगायत छन् ।
सिआरभीलाई प्रभावकारी बनाउन हालै अनुशिक्षण तालिमसमेत दिइएको एसएसपी मैनालीले बताए । यस्तै, प्रहरीका चालकलाई पनि थप तालिम दिएर सडकमा उदाहरणीय चालक बनाउने योजना प्रहरीको छ । प्रहरीलाई सामूहिक नेतृत्वमा अघि बढाई उत्प्रेरणा बढाउने अभियान पनि सुरु गरिएको छ । गत २२ असारमा प्रहरी महानिरीक्षक कुँवरले आफ्नो दुईवर्षे कार्यायोजना सार्वजनिक गरेका थिए । जुन १ साउनदेखि पूर्ण रूपमा लागू हुँदै छ ।