दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको शिथिलता र बढ्दो भूराजनीतिक तनाव कम गरी लगानीकर्तालाई प्रोत्साहित गर्न बैठक बस्न थालेको हो
अर्को हप्तादेखि चीनमा हुने बैठकमा चीनको वित्तीय नियामकले विश्वका ठूला लगानीकर्तालाई आमन्त्रण गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको शिथिलता र बढ्दो भूराजनीतिक तनाव कम गरी लगानीकर्तालाई प्रोत्साहित गर्न बैठकमा आमन्त्रण गरिएको छ ।
आगामी शुक्रबारदेखि बेइजिङमा हुने उक्त बैठक चीनमा अमेरिकी डलरमा लगानी भएका फर्मको वर्तमान स्थिति र तिनले सामना गर्नुपरेको चुनौतीबारे केन्द्रित हुनेछ । विश्वभरका लगानीकर्ता तथा बैंकहरूले चीनको आर्थिक दृष्टिकोणमाथि विश्वास कम गरिरहेका वेला यो बैठक हुन थालेको छ । यसलाई महत्वका साथ हेरिएको छ ।
कोभिड महामारीपछि चीनको रिकभरी तीव्र गतिमा खुम्चिइरहेको छ भने राष्ट्रिय सुरक्षाको विषयमा चीन–अमेरिका सम्बन्ध पनि तल्लो स्तरमा छ । यद्यपि, चीनमा लगानी गर्ने वैश्विक पुँजी व्यवस्थापकसामु देखिएका चुनौतीमाथि स्पष्ट एजेन्डासहित चर्चा गर्ने यो बैठक दुर्लभ मानिएको छ । यसले विदेशी लगानीकर्तालाई विश्वास दिलाउन चीन उत्सुक छ भन्ने दर्साउँछ ।
बैठक चीनमा अमेरिकी डलरमा लगानी भएका फर्मको वर्तमान स्थिति र तिनले सामना गर्नुपरेको चुनौतीबारे केन्द्रित हुनेछ । विश्वभरका लगानीकर्ता तथा बैंकहरूले चीनको आर्थिक दृष्टिकोणमाथि विश्वास कम गरिरहेका वेला यो बैठक हुन थालेको हो ।
सामान्य साझेदार भनेर चिनिने विदेशी र घरेलु पुँजी व्यवस्थापक फर्म र तिनका लगानीकर्ता या सोभरेन वेल्थ फन्ड र पेन्सन फन्डसहित सीमित साझेदार बैठकमा उपस्थित हुने अनुमान चीनले गरेको छ । यसका साथै उनीहरूले चीनमा आफ्नो व्यवसायमा देखिएका समस्या समाधान गर्न र अर्थतन्त्रमाथि साझा दृष्टिकोण राख्न सक्नेछन् । बैठकमा भाग लिने वैश्विक पुँजी व्यवस्थापकले सम्भवतः चीनस्थित आफ्ना वरिष्ठ कर्मचारीलाई पठाउनेछन् । यस्तै, केही उच्च अधिकारी भने वार्ताका लागि बेइजिङ नै पुग्नेछन् ।
कोभिडमा चीनले अपनाएको कडा नीतिले सन् २०२२ मा अर्थतन्त्र तीन प्रतिशतले मात्रै वृद्धि भयो, जुन यो दशककै खराब प्रदर्शनमध्येको एक हो । यो वर्षको सुरुवातमा अचानक प्रतिबन्ध हटाएपछि चीनमा आर्थिक गतिविधि बढेको थियो । तर, चीन, अमेरिका र अन्य पश्चिमा शक्तिबीच नीतिगत अनिश्चितता बढ्दै जाँदा थप तनाव बढेपछि पुनः आर्थिक गतिविधि सुस्त भएको छ ।
केही प्राइभेट इक्विटी कम्पनी र त्यसका लगानीकर्ता टेक कम्पनीजस्ता निजी उद्यममाथिको लामो कारबाहीपछि उनीहरूले आफ्नो चीन रणनीतिबारे पुनर्विचार गर्दै आइरहेका छन् । यसले प्राइभेट इक्विटी लगानीकर्ताको चीनफिर्तीको सम्भावनालाई छायामा पारेको छ, जसले गर्दा लगानीको अवसर संकुचन हुँदै गएको छ । यस्तो अवस्थामा बेइजिङले विश्वका ठूला लगानीकर्तालाई आमन्त्रण गर्दै बैठक डाकेको छ ।
ओन्टारियो टिसर्च पेन्सन प्लान (ओटिपिपी) ले चीनको निजी सम्पत्तिमा भावी प्रत्यक्ष लगानीलाई रोकिएको बताएका थिए । चाइना सेक्युरिटिज रेगुलेटरी कमिसन (सिएसआरसी)का उपाध्यक्ष फाङ सिंघाईले बैठकलाई सम्बोधन गर्ने तय भएको छ । बैठकको आयोजनाचाहिँ चीनको पुँजी नियामक सम्पत्ति व्यवस्थापन संघले गरेको छ । महिनौँको निराशापूर्ण आर्थिक तथ्यांकले चीनको नेप्से सूचकांक दुई प्रतिशभन्दा तल आएको छ । तर, विश्वको सेयर भने १५ प्रतिशतले बढेको अवस्था छ । यस्तै, चिनियाँ मुद्रा युआन आठ महिनाकै तल्लो स्तरमा पुगेको छ । यो दुर्दशा देखेपछि केही लगानीकर्ता चीनको रणनीति बन्द गर्ने अवस्थामा पुगेका छन् ।
उद्योगको तथ्यांक राख्ने प्रिकिनका अनुसार यो वर्ष चीन केन्द्रित उद्यम पुँजी (भेन्चर क्यापिटल) र प्राइभेट इक्विटी फर्मद्वारा अमेरिकी डलरमा पुँजी जुटाउन यो वर्षको ६ महिना दशककै कमजोर साबित भएको छ । यसैगरी चीनकेन्द्रित जनरल पार्टनरले पनि ६ महिनामा जम्माजम्मी पाँच अर्ब ५० करोड डलर पुँजी जुटाउन सफल भए । सन् २०२१ को सोही अवधिमा भने यस्तो पुँजी २७ अर्ब ६० करोड डलर जुटेको थियो ।
हङकङस्थित ओरियन्ट क्यापिटल रिसर्चका प्रबन्ध निर्देशक एन्ड्र्य कोलियरका अनुसार कडा सुरक्षा, प्राविधिक उद्योगमाथिको कठोर नियमन तथा विदेशीमाथि गरिएको निगरानी एवं चिनियाँ नीतिका कारण कैयौँ बहुराष्ट्रिय कम्पनीलाई चीनमा टिक्न सक्ने वातावरण सिर्जना हुन सकेको छैन । ‘अहिले अर्थतन्त्र शिथिल हुन थालेपछि विदेशीलाई फर्काउन नयाँ उपाय अपनाउन थालिएको छ,’ कोलियरको भनाइ छ ।
बैठकले सन् २०२० को अन्त्यमा टेक्नोलोजी सेक्टरमा सुरु भएको संकट र एन्ट ग्रुप तथा टेनसेन्टमाथिको जरिवानासँगै अन्त्य भएको विषयलाई पनि सम्बोधन गर्नेछ । यसैगरी, चिनियाँ प्रधानमन्त्री ली कियाङले अलिबाबाको क्लाउड युनिट र मेइटुआनसँग वार्ता गर्दै चीनको अर्थतन्त्रमा सहयोग गर्न आग्रह गरेका छन् । यसले पनि चीन कत्तिको उदार हुँदै गइरहेको छ भन्ने संकेत गर्छ ।