
प्रशोधित घाँस (हेलेज) निर्यातको शुभारम्भ गर्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ । शनिबार पहिलो चरणमा चितवनको भरतपुरबाट कुल ८० टन हेलेज बोकेका १० ट्रक रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाइएको छ । उपप्रधानमन्त्री श्रेष्ठले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताउँदै पशु आहार चीन पठाउने कामको आरम्भ हुनुले नयाँ सम्भावना देखाएको बताए । कृषिमन्त्री भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सके देशको अर्थतन्त्र बलियो बन्ने बताए । नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उनले बाँझो जमिनमा घाँस उत्पादन गर्न सकिने बताए ।
नेपालबाट आधिकारिक रूपमा पहिलोपटक चीनमा प्रशोधित घाँस (हेलेज) निर्यात सुरु भएको छ । शनिबार पहिलो चरणमा चितवनको भरतपुरबाट कुल ८० टन हेलेज बोकेका १० ट्रक रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाइएको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत चेन सोङले एक कार्यक्रमबीच औपचारिक रूपमा चीनको सिगात्सेमा हेलेज निर्यात शुभारम्भ गरेका थिए ।
नेपाली कृषकले उत्पादन गरेको ढोडसहितको मकै भरतपुर– ५ मा चिनियाँमार्फत नै सञ्चालित उद्योग न्यु होराइजन इन्टरनेसनल प्रालिले खरिद गरेर हेलेज उत्पादन गरेको हो । किसानलाई उन्नत जातको बिउलगायत प्राविधिक सहयोगसमेत गरेर कम्पनीले प्रतिकट्ठा मकैको साइजका आधारमा तीन हजारदेखि ६ हजारसम्ममा खरिद गरेको छ । नेपालबाट निर्यात गरिएको हेलेज चीनमा आफ्नै कम्पनीबाट सञ्चालित चौँरी फार्ममा प्रयोग गर्ने कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङ जिङले बताए । यो कम्पनीले वार्षिक ६० हजार मेट्रिकटन उत्पादन गर्न सक्छ । नेपाल सरकारको अनुमतिअनुसार कम्पनीले उद्योग विस्तार गरेर वार्षिक तीन लाख मेट्रिकटनसम्म हेलेज उत्पादन गरी चीन लैजाने तयारी गरेको छ ।
हरियो घाँसलाई काटेर प्लास्टिकमा हावा निछिर्ने गरी बेरेर हेलेज र साइलेज बनाइन्छ । यसलाई गुन्द्रुकजस्तो बनाइन्छ । हेलेज चीन निर्यात गर्न मन्त्रिपरिषद्ले १३ मंसिरमा प्रोटोकल स्वीकृत गरेको थियो । भविष्यमा जौसँगै नेपियरलगायत विकासे घाँसबाट पनि हेलेज बनाउने उद्योगको लक्ष्य छ । नेपालमा विशेष गरी मकैबाट साइलेज र हेलेज उत्पादन गरिँदै आएको छ । सुक्खायाममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखिने यो पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ । पशुको तौल र अवस्था हेरेर यो आहार दिने गरिन्छ ।
‘आर्थिक समृद्धिका लागि निर्यात आवश्यक’
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक समृद्धि हासिल गर्न निर्यात अवश्यक रहेको बताए । कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताउँदै श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ हुनुले नयाँ सम्भावना देखाएको बताए ।
‘हामी यथास्थितिमा बसेर हुँदैन । भाषणले होइन पुँजीगत खर्च बढाउने, उत्पादानमा वृद्धि गर्ने, व्यापार घाटा कम गरेर निर्यात बढाएमा समृद्धिको यात्रा तयार गर्न सकिन्छ,’ श्रेष्ठले भने । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल सूत्रका रूपमा लिएर यसका आधारमा कामलाई अघि बढाएको श्रेष्ठको भनाइ छ ।
कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले कृषि उत्पादनलाई बढाएर निर्यात गर्न सके देशको अर्थतन्त्र बलियो बन्ने बताए । नेपालमा घाँस उत्पादन गरेर चीन निर्यात गर्न सफल भएको भन्दै उनले बाँझो जमिनमा घाँस उत्पादन गर्न सकिने बताए ।
कार्यक्रममा चीनको सिगात्से सहरका उपप्रमुख लिउ हउ झोङले भरतपुर महानगरसँग यसअघि नै भगिनी सम्बन्ध कायम भएको बताउँदै पशु आहार लैजान सुरु गरिएकोमा खुसी व्यक्त गरे । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले यहाँ उत्पादित पशु आहार चीनको सिगात्से पठाउन पाएकामा महानगरले गर्व गरेको बताए । आउँदा दिनमा गुणस्तरीय र ठूलो परिणाममा पशु आहार पठाउन सकिने उनको अपेक्षा छ ।