नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा मदन भण्डारी स्मृति उद्यान स्थापना गरी वृक्षारोपण गरेको छ।
शनिबार काठमाडौं विष्णुमती करिडोरस्थित निलबराहीको टंकेश्वर वडा नम्बर १३ मा वृक्षारोपण गरिएको हो। स्व.मदनकुमार भण्डारीको ७२ औँ स्मृति दिवस पारेर काठमाडौं उपत्यकालाई सहरीकरण, सौन्दर्यकरण र सुविधाको सहर बनाउने अभियानअन्तर्गत वातावरण सुन्दर होस् र कोही पनि भोको रहनु नपरोस् भन्नका लागि सहरी सौन्दर्यकरण बढाउन र खाद्य सम्प्रभुताको विषयलाई पनि आमजनताको बीचमा चेतना फैलाउन यो अभियान सञ्चालन गरेको हो।
वृक्षारोपण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुँयालले वातावरण, नदी, सम्पदा संरक्षणको क्षेत्रमा, सुविधा उपलब्ध गराउने क्षेत्रमा वृक्षारोपणको कार्यक्रम राखेको बताए। उक्त क्षेत्र काठमाडौं उपत्यकाको पिछडिएको क्षेत्र भएकाले सो क्षेत्र प्रवर्द्धनका लागि वृक्षारोपण गरेको बताए। वातावरण संरक्षणका साथै नदी संरक्षणका लागि पनि पहल गरेको बताए।
उनले अब काठमाडौं सहर संरक्षणको काममा सबैले हातेमालो गर्न जरुरी रहेको बताए।