एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले पराजित भएको छ।
श्रीलंकामा जारी प्रतियोगितामा नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३२ ओभर पाँच बलमा ६ विकेट गुमाएर पूरा गरेको छ।
नेपालका लागि ललित राजवंशीले तीन, पवन सर्राफले दुई र कुशल मल्लले एक विकेट लिए। यसअघि कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै एक सय ७९ रन बनाएको थियो।
नेपालका लागि सोमपाल कामीले ७५ रन बनाए। नवौँ विकेटका लागि सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रन बनाए।
अर्जुन साउद र कुशल मल्लले समान १७–१७ रन बनाए। गुलसन झाले १३ र ओपनर आसिफ शेख १२ रन बनाए। अरू नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पाकिस्तान ‘ए’का लागि शाहनवाज दहानीले पाँच तथा मोहम्मद वासिम जुनियरले चार विकेट लिए। मुबासिर खानले एक विकेट लिए । जितसँगै पाकिस्तान ‘ए’ समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा छ। नेपालले दोस्रो खेलमा सोमबार भारत ‘ए’ सँग खेल्नेछ।